सलहको प्रकोप एक महिनासम्म रहन सक्ने विज्ञहरुको प्रक्षेपण

बाराबाट शनिबार प्रवेश गरेको सलह किरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् । वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ । वयस्क सलह बढीमा दुई हप्ता र बच्चा सलह १ महिनासम्म बाँच्न सक्ने कृषि विभागका पूर्व महानिर्देशक डा. डिल्लीराम शर्माले बताउनुभयो ।

८, १० करोडको समूहमा आएर बाली सखाप पार्ने प्रजातिको यो किरा नेपालमा २, ४ लाखको समूहमा मात्रै आएकाले नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । अहिले डराउनै पर्ने अवस्था नभएको उल्लेख गर्दै उहाँले सरकारले विषादी प्रयोग गरेर र किसानहरुले धुँवा लगाउने, ड्रम बजाएर यसलाई नियन्त्रण गर्न सकिने अवस्था रहेको बताउनुभयो ।

शनिबार भारतबाट नेपालको तराईका जिल्ला हुँदै पहाडी जिल्लाहरुमा समेत प्रवेश गरेको थियो । सहल किरालाई विहानको विषादी प्रयोग गरी नष्ट गर्न सकिने विज्ञहरुको भनाई छ । साँझ एक ठाउँमा गएर बस्ने र विहान ८, ९ बजेपछि मात्रै बाली खान खेतमा पस्ने भएकाले विहान ५, ६ बजेको समयमा विषादी प्रयोग गरी नियन्त्रणमा लिन सकिने अवस्था रहेको विज्ञहरुले बताएका छन् ।

Spread the love