साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डः अध्यक्ष ढकाल

काठमाडौं, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको बताएका छन् । थाइल्यान्डको राजधानी बैंककमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपाल जस्ता विकासोन्मुख मुलुकहरूमा साना र मझौला उद्यमहरू अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको बताउनु भएको हो । कार्यक्रम एसियाली व्यापार प्रवर्द्धन फोरम एटीपीएफको आयोजनामा भएको हो ।
नेपालमा, साना तथा मझौला उद्योगहरूले जिडिपीको लगभग २२ प्रतिशत योगदान गर्ने भएकाले सो क्षेत्रको विकास तथा प्रवर्द्धनमा अन्तरक्षेत्रीय साझेदारीको महत्व रहेको अध्यक्ष ढकालको तर्क रहेको छ । नेपालको निर्यात व्यापारमा हातले बुनेका गलैँचा, थाङ्का, चित्रकला र परम्परागत सङ्गीतका वाद्य यन्त्रहरूको उल्लेख्य हिस्सा रहेकाले सांस्कृतिक उद्योगहरूमा लगानी गरेर समावेशी समृद्धिमा योगदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरेका छन् ।
पर्यटन मार्फत पनि साना तथा मझौला उद्भमलाइ प्रवर्द्धन गर्न सकिने भएकाले नेपाल भ्रमण गरी लगानी गर्ने अवसर खोज्न पनि अध्यक्ष ढकालले लगानीकर्ताहरुलाई आग्रह गरे । बढ्दो पर्यटन बजारलाई लक्षित गरी होटल, थिम पार्क, केबलकार लगायतका पर्यटन पूर्वाधारमा लगानी खोजिरहेकाले साझेदारीका लागि पनि अध्यक्ष ढकालले लगानीकर्ताहरूको ध्यानाकर्षण गरे ।
अध्यक्ष ढकालले नेपालमा लगानी गर्न चाहने विदेशी लगानीकर्ताहरूलाई सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासंघ तयार रहेको र हेल्प डेस्क मार्फत विदेशी लगानीकर्ताहरूलाई नीति र प्रक्रियाहरू बुझ्न मद्दत गरिरहेको पनि जानकारी गराए ।

 

Spread the love