सार्वजनिक यातायातले मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल अनुगमन गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट-मुग्लिन र मुग्लिन-पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिनुभएको हो । समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताउनु भयो । उहाँले सडक सीमा अतिक्रमण गरी सडक सीमा भित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई निर्देशन दिनुभयो । सभापति खड्काले देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि निर्देशन दिनुभयो । उहाँले राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतीको काममा भइरहेको ढिलासुस्ति तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखि निर्माणाधिन नारायणघाट- मुग्लिन र मुग्लिन-पोखरा सडक स्तर उन्नतीको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।
सभापति खड्काले वातावरण,प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालिन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानून ल्याउन सरकारलाई निर्देशन दिनुभयो ।

Spread the love