काठमाडौं । बुधबार बसेको संघीय संसद्को सार्वजनिक लेखा समितिको बैठकमा १०६ मेगावाट क्षमताको जगदुल्ला जलविद्युत आयोजना सम्बन्धी ठेक्का प्रक्रिया र यसमा उठेका विवादका विषयमा गम्भीर छलफल भएको छ। बैठकमा आयोजनामा देखिएको ढिलाइ, ठेक्का प्रक्रियामा देखिएको अनियमितताबारे छलफल भएको हो ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले आयोजनाको ढिलाइका कारण मुलुकलाई ठूलो आर्थिक घाटा भएको बताउँदै निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन जोड दिए।
यसैगरी एमाले सांसद योगेश भट्टराईले कर्णाली प्रदेश जस्ता दुर्गम क्षेत्रमा जलाशययुक्त आयोजना निर्माण हुनु विकासको दृष्टिकोणले महत्त्वपूर्ण भएको उल्लेख गर्दै सामान्य विवाद वा प्रक्रिया जन्य कारणले आयोजना रोकिनु अनुचित नभएको बताए।
यसैगरी सांसद अमनलाल मोदीले ठेक्का प्रक्रिया पार गर्ने क्रममा चिनियाँ कम्पनी जियाङ्सी कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले फर्जी कागजात पेस गरेको विषयमा सार्वजनिक लेखा समितिमा परेको उजुरीको विषय उठाए।
चिनियाँ कम्पनी हेजाउले जगदुल्ला हाइड्रोपावर कम्पनीले आफ्नो नाम र छाप नक्कल गरेको भन्दै उजुरी दिएपछि विवाद थप गहिरिएको हो । आयोजनाबारे संसद्को सार्वजनिक लेखा समिति, अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेका कारण निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन ।