सिन्धुलीको कमला नदिमा बनाइएको सडक पुल तोकिएको समय अघि नै निर्माण सम्पन्न

सिन्धुली जिल्लाको दुधौली नगरपालिका कमला नदिमा बनाइएको सडक पुल तोकिएको समय अघि नै निर्माण सम्पन्न भएको छ । कालिका रुसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुलको निर्माण कार्यले लकडाउनमा समेत तिब्रता पाउँदा एक वर्ष अघि नै निर्माण सम्पन्न भएको छ । तोकिएको समय भन्दा एक वर्ष अघि पुल निर्माण भएपछि स्थानीयहरु उत्साहित भएका छन् । २०७४ मंसिर २७ गते ४२ महिना भित्र निर्माण सम्पन्न गर्ने गरी सिन्धुली दुधौली नगरपालिका वडा नं. ९ र ११ जोडने कमला नदिमा निर्माण गरिएको पूल सम्झौता अवधि भन्दा एक वर्ष अगावै निर्माण सम्पन्न भएको छ ।
कालिका रसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको पुल २०७८ जेठ २७ गते बmुझाउनु पर्नेमा ११ महिना अघि नै निर्माण सम्पन्न भएको कम्पनीका प्रोजेक्ट म्यानेजर डिल्लीराम ढकालले बताउनुभयो । सम्झौता पछि ६ महिना डिजाइन फेज र तीन महिना स्वीकृतिका लागि समय लागेकाले ९ महिना पछि मात्रै निर्माण कार्य सुरु भएको थियो । तर पनि स्थानीयको सहयोग, निर्माण सामग्रीको सहज उपलब्धता, जनशक्तिमा कुनै समस्या नहुनु र कम्पनीले नियमित भुक्तानी गरेका कारण पुल निर्माणको कार्य एक वर्ष अघि नै सम्पन्न भएको ढकालले बताउनुभयो । कुल ६ सय मिटर लामो यो पुल प्री स्ट्रेस मोडलमा बनेको छ । पुलको कुल लागत करिब साढे ६६ करोड रुपैयाँ रहेको ढकालले बताउनुभयो ।
दुधौली नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कुमार लामाले पुल निर्माण भएपछि सिन्धुलीका अधिकांश क्षेत्रका बासिन्दाहरुलाई सहज भएको बताउनुभयो । पुल बनेपछि यस क्षेत्रका मानिसहरुलाई आवतजावत गर्न, विद्यालय तथा क्यम्पस जान, उपचारका लागि अस्पताल जान र खेतिपातिका लागि समेत सहज भएको उहाँले बताउनुभयो । निर्माण कम्पनीको इमान्दारिताका कारण तोकिएको समय भन्दा एक वर्ष छिटो निर्माण सम्पन्न भएकोमा आफुहरु खुशि भएको लामाले बताउनुभयो ।

पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने स्थानीयहरु पुल निर्माण भएपछि खुशि भएका छन् । पुल नभएकै कारण विरामीको अकालमा ज्यान जानुपर्ने अवस्थाको अन्त्य भएको, विद्यालय र क्याम्पस जान सहज भएको, खोतिपातिका लागि समेत सहज भएको स्थानीयहरु बताउँछन् । प्री स्ट्रेस मोडलमा निर्माण गरिएको ६ सय मिटर लामो पुलको वारी र पारी २ सय ५० मिटरका दरले सडक पिच गर्ने कार्य पनि सम्पन्न भएको छ । लकडाउनमा पनि नियमित काम गरिएकाले तोकिएको समय अघि नै निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ ।

Spread the love