काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नेपाली सिमेन्ट उद्योगहरु अत्यन्तै ठूलो घाटा व्यहोरिरहेको जनाएको छ ।
शुक्रबार संघले पत्रकार सम्मेलन गर्दै १२ घण्टासम्म दैनिक विद्युत कटौती भइरहेको अवस्थामा जेनेरेटरबाट बैकल्पिक उर्जाको व्यवस्था गरी उद्योग संचालन गर्दा उत्पादन लागत अत्याधिक मात्रामा बृद्धि भएको र ढुवानी भाडामा भएको वृद्धि लगायतका कारण उद्योग संचालन नै गर्न नसक्ने अवस्था आइसकेको जनाएको हो ।
संघले उद्योगहरुले श्रमिक कर्मचारीहरुको तलव भत्ता भुक्तानी, विद्युत महसुल रकम भुक्तानी, बैकल्पिक उर्जाको लागि इन्धन खरिद, कच्चा पदार्थको भुक्तानी, बैंक किस्ता र व्याज भुक्तानी जस्ता नियमित खर्चहरु हेरेर तरलता व्यवस्थापन गर्नको लागि उत्पादन लागत भन्दा निकै कम मूल्यमा सिमेन्ट विक्री गरी तरलता व्यवस्थापन गर्नुपर्ने बाध्यताको कारण विगतमा सिमेन्टको मूल्यमा निकै गिरावट आएको जनाएको छ ।
संघले अर्बौ लगानी गरि स्थापना भएका उद्योगहरुले मुनाफा गर्न नसकी ठूलो नोक्सानी भई नेपालमा संचालित कुल ६५ वटा सिमेन्ट उद्योगहरु रहेकोमा २२ वटा सिमेन्ट उत्पादन गर्ने ग्राण्डिङ यूनिटहरु यस अवधिसम्म पूर्णतः बन्द भइसकेको समेत जानकारी गराएको छ ।
थप नोक्सानी व्यहोरी उद्योग संचालन गर्दा अरु केही उद्योगहरु समेत आर्थिक संकटका कारण उद्योग बन्द उन्मुख रहेको कुरा समेत जानकारी गराएको छ ।
साथै नेपाल सिमेन्ट उत्पादक संघले उद्योगहरुको विक्री मूल्यमा भौगोलिक र व्यापारिक अवस्था समेतलाई हेरी विचार गरी हाललाई औसतमा प्रति बोरा रु. ८५ । देखि बढिमा रु. ११५ । (अन्तः शुल्क र मु. अ. कर बाहेक) भन्दा थप नहुनेगरी विक्री मूल्य निर्धारण गरी उद्योग संचालन गर्नु गराउनु सम्बन्धित सबै उद्योग र उद्योगीहरुलाई अनुरोध गरेको छ ।