सुझाव दिन गठित कार्यदलले प्रतिवेदन अध्यक्षद्वयलाई बुझाए

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र समस्या र समाधानका बारेमा सुझाब दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले तयार परेको प्रतिवेदन शनिवार अपरान्ह प्रधानमन्त्री निवाश बालुवाटारमा अध्यक्षद्वयलाई बुझाएको हो । प्रतिवेदन बुझाए पछि महासचिव पौडेलले पार्टी भित्रको आन्तरिक एकता मजबुत बनाउन प्रतिवेदनले आवश्यक सुझाव दिएको बताउनु भयो । कार्यदलको सर्व सम्मतिले पारित गरेको प्रतिवेदनमा पार्टी भित्रका आन्तरिक विबादलाई सहमतिकै आधारमा टुंगो लगाउन सकिने गरि सुझाव दिएको पनि महासचिव पौडेलले बताउनु भयो ।

गएको साउन ३० गते शुक्रवार अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले महासचिव बिष्णु पौडेलको संयोजकत्वमा भीम रावल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, पम्फा भुसाल र जनार्दन शर्मा सदस्य रहेको कार्यदल गठन गर्नुभएको थियो । कार्यदललाई साउन ३२ गते बसेको नेकपा सचिवालय बैठकले अनुमोदन गरेको थियो । कार्यदलले दिएको प्रतिवेदन अध्यक्षद्वयले अध्ययन तथा आबश्यक परे संशोधन सहित सचिवालयको बैठकमा पेश गर्ने र सचिवालयबाट स्थायी समितिको बैठकमा पेश गरिने महासचिव पौडेलले बताउनु भयो ।

Spread the love