हेटौँडा सिमेन्ट उद्योग पुनःउत्पादन सुरु गर्ने तयारीमा

हेटौँडा। हेटौँडा सिमेन्ट उद्योग यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने तयारीमा रहेको छ ।
उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक ईञ्जिनियर नविनकुमार कर्णले जानकारी दिए ।
यसबाट तत्काल सिमेन्ट उत्पादन गर्न सकिने उनको भनाइ छ । उनका अनुसार उद्योग सञ्चालनका लागि आवश्यक कच्चापदार्थ केही मौज्दात रहेको र केही आउने सुनिश्चितता भइसकेको छ ।
उद्योग सञ्चालनका लागि विद्युत् समस्या पनि समाधान हुने उनले बताए । उद्योग व्यवस्थापनले उद्योगको विभिन्न उपकरण मर्मत गर्नुपर्ने भएकाले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योग बन्दहुँदा कर्मचारीले विगत तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् ।
विसं २०३३ सालमा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको थियो । तर आर्थिक समस्या लगायतका कारणउद्योग बन्द भएको थियो ।
एक पछिअर्को समस्यासँग जुध्दै आएको हेटौँडा सिमेन्ट उद्योगले गत २०८१ भदौ महिनाको तेश्रो साताबाट पुनःसिमेन्ट उत्पादन सुरु गरेपनि मेसिन मर्मत गर्नुपर्ने भएपछि असोज १५ गतेदेखि उद्योग बन्द भएको थियो । दैनिक १६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको सो उद्योग आर्थिक समस्या लगायतका कारण थलिएको छ ।

Spread the love