१० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय हुने

१० करोडभन्दा बढी घुस लिनेलाई १४ वर्षसम्मको कैद सजाय हुने विषयमा विधायन व्यवस्थापन समितिमा सहमति जुटेको छ ।

शुक्रबार भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा १० करोडभन्दा बढी घुस लिनेलाई १० देखि १४ वर्षसम्म कैद सजाय हुने विषयमा सहमति जुटेको हो । समिति सभापति परशुराम मेघी गुरुङले घुस लिएको रकम जफत हुने र सोही बराबरको जरिवाना गर्ने विषयमा पनि सहमति जुटेको छ । १ करोड देखि १० करोड सम्म घुस लिने व्यक्तिलाई ८ देखि १० वर्षसम्म कैद हुने प्रावधानमा पनि सहमति जुटेको छ । यसअघि १ करोडभन्दा बढी जतिसुकै रकम घुस लिएपनि आठ देखि १० वर्षसम्म कैद र घुस (रिसवत) लिएको रकम जफत हुने प्रावधान थियो । १ करोडसम्म घुस लिने व्यक्तिलाई ४ देखि ८ वर्षसम्म कैद हुने प्रावधान थपिएको छ । ‘‘५० हजार रुपैयाँसम्म घुस लिएमा १ देखि ६ महिना कैद, ५० हजार देखि १ लाखसम्म घुस लिएमा ६ महिनादेखि १ वर्ष कैद, १ देख ५ लाखसम्म घुस लिएमा २ देखि २ वर्ष कैद, ५ देखि २५ लाखसम्म घस लिएमा २ देखि ४ वर्षसम्म कैद हुने विषयमा सहमति जुटेको छ’’, सभापति गुरुङले भन्नुभयो, ‘‘२५ लाख देखि ५० लाखसम्म घुस लिनेलाई ४ देखि ६ वर्ष कैद, ५० देखि १ करोड घुस लिएमा ४ देखि ८ वर्षसम्म कैद, १ करोड देखि १० करोडसम्म घुस लिएमा ८ देखि १० वर्षसम्म कैद र १० करोडभन्दा बढी रकम घुस लिएमा १० देखि १४ वर्ष सम्म कैद हुने र घुस लिएको रकम जफत गरी सोही अनुसारको जरिवाना गर्ने विषयमा सहमति जुटेको छ ।’’

दफावार छलफमा सांसद रामनारायण विडारीले घुस लिएको प्रमाणित भएमा अभियुक्तको मात्रै नभएर सपरिवारको सम्पत्ति जफत हुने व्यवस्था गर्न सके भ्रष्टाचार नियन्त्रणमा सहयोग पुग्ने बताउनुभयो ।

Spread the love