७० भन्दा बढी देशका नागरिक नेपालमा कामदार, १७ हजार बढीले श्रम स्वीकृति लिए

साउन ७, काठमाडौं । नेपालमा ७० वटा भन्दा बढी मुलुकका नागरिकहरु काम गर्न आउने गरेका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार पछिल्लो एक दशकमा १७ हजार बढी विदेशी कामदारले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् ।

यसमा १४ हजार ९ सय २५ पुरुष र २ हजार ७६ जना महिला रहेका छन् । ७० भन्दा बढी देशबाट नेपाली कामदार आउने गरेका छन् । यसमा जर्मनी, बेलायत अमेरिका लगायतका देशबाट पनि नेपालका काम गर्न आउने गरेको देखिएको छ ।

विदेशीले नेपालमा काम गर्न श्रम स्वीकृति लिए अधिकतम सात वर्षसम्म बस्न पाउने व्यवस्था रहेको विभागले जनाएको छ । सन् २०१७ देखि ०२१ सम्म (चार वर्षको अवधिमा) ७ हजार ५ सय ८९ जना विदेशी कामदारले नेपालमा रोजगारीको लागि श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ ।

यो अवधिमा सबैभन्दा धेरै चिनियाँ कामदारले श्रम स्वीकृति लिएका छन् । उत्पादन, सेवा मूलक, निर्माण र अन्य क्षेत्रमा काम गर्ने विदेशी कामदारलाई श्रम अनुमति जारी गरिएको विभागले जनाएको छ ।

चिकित्सक, इन्जिनियर, पाइलट, प्राध्यापक, निर्माण क्षेत्र, वस्तुकला, सूचना प्रविधि लगायत क्षेत्रमा काम गर्न आउने विदेशी कामदारलाई पनि श्रम स्वीकृति जारी गर्ने गरेको श्रम विभागले जनाएको छ ।

एउटै आयोजनाका लागि २ सयभन्दा बढी विदेशी कामदारले श्रम स्वीकृति लिने गरेको विभागको भनाइ छ । पछिल्लो समय चीन, भारत, दक्षिण कोरिया लगायतका देशले नेपालमा उद्योग, होटल, रेस्टुरेन्ट र अन्य आयोजनामा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । यसरी लगानी गरिएका उद्योग, आयोजना, होटल–रेस्टुरेन्टमा पनि धेरै विदेशीले नै काम गर्ने गरेका छन् ।

भूकम्प पछिको पुनर्निर्माणका लागि पनि धेरै कामदार नेपाल आएका थिए । नेपाल र भारतको खुल्ला सिमानाका कारण नेपाल आउन अथवा भारत जान भिसाको आवश्यक पर्दैन । यसकारण पनि नेपालमा भारतीय कामदार अझै बढी रहेको छ । उनीहरुको रेकर्ड विभागसँग छैन ।

बिभागका अनुसार मेडिकल फिल्डमा काम गर्न आउने डाक्टर लगायतका स्वास्थकर्मीले भने मेडिकल काउन्सिलबाट अनुमति लिने गरेका छन् । उनीहरुले कमाएर लैजान सहज होस् भनेर अनुमति लिने गरेका छन् । यस्तै कुनै कम्पनीमा सीईओ बनेर आउनेहरूले पनि अनुमति लिने विभागले जनाएको छ । अन्यथा अन्य काममा लागि आउन अधिकांश अनुमति नलिइ आउने गरेका छन् ।

कुनै विदेशी कामदार नेपालमा अनुमति लिएर आएको छ भने त्यस्ता विदेशी अधिकतम सात वर्षभन्दा बढी बस्न नपाउने प्रावधान छ । सकेसम्म स्वदेशी जनशक्तिलाई नै काम गराउने नसक्ने अवस्थामा उच्च तहमा मात्र त्यस्ता विदेशी कामदार ल्याउने गरिएको बिभागको भनाइ छ ।

नेपालमा जोसुकै कामदार प्रवेश गर्न सक्ने अवस्था हुँदैन । प्राविधिक र दक्ष व्यक्तिलाई मात्र काम गर्न दिइन्छ । दक्ष र प्राविधिकले ३ वर्षसम्म काम गर्न सक्छ र तिन वर्षपछि त्यस्ता व्यक्ति विशिष्ट दक्ष हुनुपर्छ । पाँच वर्षसम्म विशिष्ट दक्ष भएर काम गरेपछि अर्को दुई वर्ष बस्नको लागि भने श्रम मन्त्रालयबाटै स्वीकृति चाहिन्छ ।

सामाजिक तथा आर्थिक क्षेत्रमा ठुलो योगदान गरेकाहरुलाई मात्र मन्त्रालयले स्वीकृति दिने गरेको विभागको भनाइ छ ।

 

 

Spread the love