अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने कृषिमन्त्रीको दाबी

कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गर्नुभएको छ । एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज) ले आयोजना गरेको ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषिलाई जोड दिएकोले कार्यान्वयनलाई लागू गर्ने हो भने नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुने बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्वपूणर् योगदान दिने बताउनु भयो । मन्त्री यादवले कृषि नेपालको मेरुदण्ड भएको बताउँदै कृषिलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको प्रमुख चुनौति भएको बताउनु भयो । उहाँले नेपालमा जनशक्तिको अभाव रहेको पनि बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कृषि नीति आवश्यक रहेकोले कृषि नीति बनाएर नै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइने स्पष्ट पार्नुभयो । उहाँले मन्त्रालय कृषि नीति पास गराउन लागि परेको पनि बताउनु भयो ।
मन्त्री यादवले नेपालको कृषि उत्पादन व्यवसायीकरण नभएको बताउनु भयो । उहाँले कृषिका उत्पादन सामग्री बिक्रीका लागि किसानले बजार नपाउने समस्या रहेको बताउनु भयो । मन्त्री यादवले कृषिमा हुनुपर्ने बजारीकरण, यान्त्रिकीकरण, भण्डारणको व्यवस्थापन नहुनुले पनि कृषिमा थप समस्या सिर्जना भइरहेको बताउनु भयो ।
मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा सबै प्रदेशहरुमा एउटा भण्डारण घर र प्रत्येक गाउँपालिकामा स-साना गोदामहरु बनाउनका लागि बजेट छुट्याउने बताउनु भयो ।

Spread the love