अब घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) ले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरेको छ । सोमवार एनओसी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र लिनसक्ने व्यवस्थाको शुरुवात गरिएको हो । आजबाट लागू हुनेगरी शाखाले विद्युतीय प्रणालीको प्रयोग गरी वैदेशिक अध्ययन स्वीकृति पत्र डाउनलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, पेपरलेस र क्यासलेस बनाएको हो । कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नो अब्जेक्शन सर्टिफिकेट चाहने विद्यार्थीले अभिभावक गुहार्नु नपर्ने र घरमै बसेर फर्म भर्न सक्ने र आफैँले सर्टिफिकेट प्रिन्ट आउट गर्नसक्ने व्यवस्था शुरु हुनु प्रशंसनीय भएको बताउनु भयो । उहाँले अबबाट विद्यार्थीहरुले घरबाटै एनओसी फर्मका लागि लाग्ने शुल्क पनि तिर्नसक्ने व्यवस्था गरिएको बताउनु भयो । उहाँले यो प्रक्रिया पूरा हुन अझै ४० प्रतिशत काम बाँकी रहेपछि चाँडै नै शतप्रतिशत काम हुनेगरी तयारी गरिरहेको बताउनु भयो ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले आजबाट फेसलेस, पेपरलेस र क्यासलेसको शुरुवात हुनु नेपालीहरुका लागि खुशीको कुरा भएको बताउनु भयो । उहाँले आफू नेपाललाई अब फेसलेस, पेपरलेस र क्यासलेस बनाउनुपर्छ भन्ने अभियानका रुपमा लागेको बताउनु भयो । उहाँले अब अन्य निकायहरुले पनि आफ्ना सेवा अनलाइन प्रणालीबाट शुरु गर्नुपर्ने बताउनु भयो ।
वैदेशिक अध्ययन स्वीकृति सम्बन्त्री निर्देशिका, २०७९ को दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरी आफ्नो वैदेशिक अध्ययन स्वीकृति पत्र डाउलोड गर्नसक्ने गरी सेवा प्रवाहलाई फेसलेस, क्यासलेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था रहेको छ ।

 

Spread the love