आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश

सरकारले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गरेको छ । मंगलबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्नु भएकोे पेश गर्नु भएको हो । उहाँले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आत्मनिर्भर अर्थतन्त्र र पूर्वाधार विकासमा केन्द्रित हुने बताउनु भयो । अर्थमन्त्री शर्माले बजेट आयात घटाउने, निर्यात प्रवर्द्धन गर्ने र आत्मनिर्भर अर्थतन्त्र विकासमा केन्द्रित हुने उल्लेख गर्नु भयो । उहाँले विदेशी लगानी भित्र्याउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादनमा जोड दिइने उल्लेख गर्नु भयो । मन्त्री शर्माले आन्तरिक उत्पादन घट्दै गएको र आयात अत्याधिक रुपमा बढ्दै गएकाले वर्तमान अर्थतन्त्रमा चुनौति रहेको दोहोर्‍याउनु भयो । उहाँले आगामी आर्थिक वर्षको बजेट उत्पादन बढाउने र आयातलाई घटाउनमा केन्द्रित हुने उल्लेख गर्नुभयो । आगामी आर्थिक वर्षको बजेट समाजवाद उन्मुख र आर्थिक रुपान्तरणका लागि हुने पनि अर्थमन्त्री शर्माको भनाइ छ । उहाँले बजेटको सिद्धान्तमा स्थानीय पूर्वाधार निर्माणका लागि अधिक बजेट विनियोजन गर्ने बताउनु भयो । मन्त्री शर्माले कुल राजस्वमा आन्तरिक राजस्वको हिस्सा बढाउँदै लैजाने उल्लेख गर्नु भयो ।
उहाँले सन्तुलित र समावेशी आर्थिक विकास गरी ग्रामिण विकास र सामाजिक न्यायलाई प्राथमिकता दिएर बजेट निर्माण गरिने बताउनु भयो । आगामी बजेट निर्माण गर्दा विनियोजित कुशलता र मितव्ययिता, सेवा प्रवाहमा सुधार तथा स्रोत परिचालनमा प्रभावकारी बनाउने अर्थमन्त्री शमाले बताउनु भयो । कृषि र उद्योग प्रवर्द्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले बजेटमा सम्बोधन गर्ने उहाँले बताउनु भयो । त्यस्तै राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी बजेट आउने मन्त्री शर्माले बताउनुभयो । उहाँले अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाइने बताउनु भयो । मुलुकमा भ्रष्टाचार घटाउँदै सरकारप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने समेत अर्थमन्त्रीले उल्लेख गर्नु भयो । उहाँले आगामी आर्थिक वर्षमा सरकारले दुई तह (प्रदेश र संघीय)को निर्वाचन समयमा नै गराउने बताउनु भयो

अर्थमन्त्री शर्माले बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्दै निरपेक्ष गरिबी, सिमान्तकृत, दलित तथा आमजनताका आधारभूत आवश्यकता पूरा हुने गरी बजेट आउने बताउनु भयो । उहाँले सार्वजनिक ऋणलाई वाञ्चित सीमा भित्रै राख्दै आर्थिक स्थायित्व कायम गरिने समेत बताउनु भयो । मन्त्री शर्माले खेतीयोग्य सबै जमिनको उपयोग, गर्ने, जमिनमा सामूहिक खेती प्रणालीलाई बजेटमा जोड दिइने उल्लेख गर्नु भयो । औद्योगिक विकास, उद्योगको क्षेत्र बढाउने, औद्योगिक ग्राम बढाउने, उत्पादनमूलक उद्योग उत्पादन गर्न प्रोत्साहन दिइने समेत उहाँको भनाई छ । स्थानीय तहमा पुग्ने कम्तीमा एउटा सडक बाह्रै्र महिना चल्ने गरी विकास गर्ने मन्त्री शर्माले बताउनु भयो । मन्त्री शर्माले विद्युत प्रसारण लाइन, लघु, मझौला जलविद्युत् आयोजनालाई प्राथमिकता दिई सबै नागरिकको पहुँचमा विद्युत पुर्‍याउने गरी बजेट आउने बताउनुभयो । आधारभूत स्वास्थ्य सेवामा आम नागरिकको पहुँच बढाउने, विद्यालय शिक्षाको गुणस्तर बढाउने, माध्यामिक शिक्षा पाएका युवालाई आयआर्जनको सीप सिकाउने समेत नीति आउने भएको छ । बाह्य पर्यटक आकर्षित गर्न अभियान चलाइने गरी, होटल पर्यटन व्यवसायको पुनरुत्थानको कार्यक्रम समेत बजेटमा आउने बताउनु भयो । त्यस्तै अर्थमन्त्री शर्माले सामाजिक सुरक्षा कार्यक्रमलाई दीगो बनाउने घोषणा समेत गर्नु भयो ।

Spread the love