आगामी चैत्र/बैशाख भित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने कृषिमन्त्री यादवको प्रतिवद्धता

पुष १८,काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले आगामी चैत्र/बैशाख भित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

मन्त्री यादवले अन्तराष्ट्रिय बजारमै अभाव भएकाले नेपालमा पनि हाललाई मलको आवश्यक व्यवस्था मिलाउन नसकिएको स्पष्टिकरण पनि दिनु भयो । आईतबार सिंहदरवारमा प्रेस बिफ्रिङ गर्दै उहाँले मलको अभाव हुन नदिन सरकारले नेपालमै मल कारखाना स्थापना गर्ने प्रयास गरिरहेको बताउनु भयो । त्यसका लागि उपयुक्त कम्पनीहरुको खोजी गर्ने काम लगानी बोर्डले गरिरहेको मन्त्री यादवको भनाई थियो । मन्त्री यादवले किसानको माग अनुसार मल आपूर्तिका लागि ऐन, कानुन संशोधन गरेर अघि बढने जानकारी दिनु भयो ।

मन्त्री यादवले उखु किसानहरुले ४५ दिन भित्रै भुक्तानी पाउने व्यवस्था सरकारले गरेको पनि बताउनु भयो । अनलाईन प्रणालीबाट उखु किसानले मिललाई उखु दिएको ४५ दिन भित्र अनलाईन पेमेन्ट गर्ने आवश्यक व्यवस्था सरकारले मिलाएको उहाँको दावी थियो । किसानहरुलाई मलको व्यवस्था पनि अनलाईन प्रणालीबाटै हुने व्यवस्था गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।

मन्त्री यादवले किसानलाई बीउविजनको अभाव हुन नदिन पनि सरकार सचेत रहेको बताउनु भयो ।

Spread the love