आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्नेछु ः पुष्पकमल दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी निर्वाचनपछि प्रधानमन्त्री बनेर अर्थतन्त्र सुधार गर्ने आशय व्यक्त गर्नुभएको छ । बिहीवार नेपाल उद्योग परिसंघले आयोजना गरेको दुई दिने पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले अहिले देश विकासको लागि वातावरण तयार भएको उल्लेख गर्दै आगामी निर्वाचनपछि देशको आर्थिक विकासमा ध्यान केन्द्रित गर्ने बताउनु भयो । अध्यक्ष दाहालले राजनीतिक स्थिरतापछि सम्पूणर् जीवन आर्थिक समृद्धिमा समर्पण गर्ने स्पष्ट पार्नुभयो । उहाँले आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि आफ्नो नेतृत्वमा पुनः देशलाई आर्थिक विकासको गति दिन ऐन कानूनमा आवश्यक सुधार र संशोधन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले राजनीतिक पार्टी र अन्य देशहरुसँगको सहकार्यलाई नयाँ उचाईमा पुर्‍याउने दाबी गर्नुभयो ।
अध्यक्ष दाहालले वर्तमान अवस्थामा निजी क्षेत्रको सहभागिता र विश्वास नलिकन देशले आर्थिक विकास र समृद्धिको यात्रालाई गति दिन नसक्ने बताउनु भयो । उहाँले संविधान सभाबाट संविधान निर्माण गर्दा नै निजी क्षेत्रलाई महत्व दिएको दाबी गर्नुभयो । उहाँले संविधान निर्माणपछि हरेक राजनीतिक दलको घोषणामा निजी साझेदारी अवधारणा अघि सारिएको पनि बताउनु भयो ।
अध्यक्ष दाहालले सरकार र निजी क्षेत्रबीचको सम्बन्ध दिनप्रतिदिन सुमधुर बन्दै गएको उल्लेख गर्दै सहकार्यमा निजी क्षेत्रसँगको सम्बन्ध सुदृढ भइरहेको बताउनु भयो ।

Spread the love