आज विश्व मधुमेह दिवस ः युवाहरुमा मधुमेहको समस्या बढ्दै

आज विश्व मधुमेह दिवस, नेपालमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । विश्व मधुमेह दिवसको अवसरमा ललितपुरमा सचेतनामुलक याली गरी विश्व मधुमेह दिवस मनाइएको हो । अल्का अस्पताल प्रा.लि.ले विश्व मधुमेह दिवसको अवसरमा ललितपुरको जावलाखेल, सातदोबाटो, कुमारीपाटी, लगनखेल परिक्रमा गरी र्‍याली गरेको थियो । साथै अस्पतालले आजको दिन अस्पतालमा मधुमेह रोगको निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको छ । अस्पतालले आज एक दिनमा २ सय जना बिरामीहरुलाई निःशुल्क उपचार गर्ने र १० दिनसम्म पुग्ने मधुमेहको औषधिसमेत दिने बताएको छ । शिविरमा बोल्दै अल्का अस्पताल प्रा.लि.का प्रशासन प्रमुख भगवान केसीले मधुमेहसम्बन्धी दीर्घ रोगीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरेको बताउनु भयो । उहाँले अस्पतालले मधुमेहसम्बन्धी बिरामीहरुको लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको र शिविरमा उल्लेख्य बिरामीहरुको चाप रहेको बताउनु भयो । शिविर आज बिहान ९ बजेबाट शुरु भइ दिउँसो ३ बजेसम्म चल्ने बताउनु भयो ।
त्यस्तै इण्डोक्राइनोलोजिस्ट डा.प्रियादर्शनी योन्जनले मधुमेह रोग लागेका ३५ प्रतिशत बिरामीहरुमा आँखाको समस्या हुने गरेको भन्दै शतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय तिब्र रुपमा मधुमेहका बिरामीहरुको संख्या बढीरहेकाले त्यसतर्फ सबै जनाले शतर्कता अपनाउन जरुरी रहेको बताउनु भयो । उहाँले अहिले विश्वभरी ५३ करोड भन्दा बढी मानिसहरुलाई मधुमेह भइसकेको र अबको १० देखि १५ वर्षमा मधुमेहको समस्या झनै बढ्ने बताउनु भयो । उहाँले नेपालमा पनि ८ प्रतिशत मानिसमा मधुमेहको समस्या देखिएको बताउनु भयो । अहिले ३० वर्ष भन्दा माथिका मानिसहरुमा यो समस्या धेरै देखिन थालेको उहाँको भनाइ छ । खानपानमा ध्यान नदिने,जङफुडहरु बढी खाने र शारीरिक कसरतको कमीका कारण युवाहरुमा पनि मधुमेहको समस्या बढ्दै गएको बताउनु भयो । मधुमेह नियन्त्रणमा गर्न नसके आँखाको समस्या चाँडै देखिने भन्दै उहाँले ३० वर्ष भन्दा माथिका हरेक मानिसहरुले हरेक वर्ष सुगर परीक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले मधुमेह हुँदा बढी तिर्खा लाग्ने, पिसाव लाग्ने,तौल कम हुने लगायतका समसया हुनेपनि बताउनु भयो ।
डा. योन्जनले मधुमेहको समस्या भएका बिरामीहरुले ६/६ महिनामा परीक्षण गर्नुपर्ने बताउनु भयो । उहाँले मधुमेहका बिरामीहरुले हरेक एक महिनामा आँखा अस्पताल वा डाक्टरलाई आँखाको पर्दा चेक गराउन र औषधिहरु समयमा नै खान सुझाव दिनुभयो ।

Spread the love