आज ४१ औं विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाईदै

आज ४१ औं विश्व पर्यटन दिवस विविध कार्यक्रम गरी मनाईदैछ । यस वर्ष दिगो विकासका निम्ति ग्रामीण पर्यटन भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाईदैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन दिवसको अवसरमा काठमडौंको चोभार स्थित मन्जुश्री पार्क पुगेर वृक्षारोपण गर्नुभएको छ । सो अवसरमा मन्त्री भट्टराईले कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताउनुभयो ।
कोभिडका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउने बताउनुभयो । राज्यको आम्दानीको स्रोतको विकास गर्नका लागि उपत्यका वरिपरिका डाँडाँहरुलाई घुम्न जाने नजिकको गन्तव्यको रुपमा विकास गरिने उहाँले बताउनुभयो । चोभारलाई पनि त्यसै कार्यक्रमसँग जोडेर विकास गरिने मन्त्री भट्टराईले स्पस्ट पार्नुभयो ।

मन्जुश्री पार्कसँगसँगै उपत्यका वरिपरिका पहाडहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेमा उपत्यकाको रात्रीकालिन जीवनको पनि सुरुवात हुने मन्त्री भट्टराईको भनाई छ । उहाँले अवको पर्यटन ग्रामीण पर्यटन माथि केन्द्रीत हुनुपर्ने पनि स्पष्ट पार्नुभयो । ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका मानिसहरुको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने विश्वास मन्त्री भट्टराईको छ ।

Spread the love