आर्थिक स्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन : प्रधानमन्त्री

पुस ५,काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सहज र सुलभ रुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताउनु भएको छ ।

सोमवार त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहमा बाल्दै प्रधानमन्त्री देउवाले सहज र सुलभरुपमा उच्च शिक्षा प्राप्त गरी प्रतिभालाई राष्ट्र र समाजमा उपयोग गर्नसक्ने वातावरण सिर्जना गर्नु राष्ट्रको दायित्व भएको बताउनु भएको हो । उहाँले सरकारको पनि आर्थिक स्तर बढी भएका व्यक्तिको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने मान्यता रहेको भन्दै राष्ट्रको उन्नती र समग्र समाजको सकारात्मक परिवर्तनका लागि सबैले उच्च शिक्षा पाउनुपर्ने बताउनु भयो । प्रधानमन्त्री देउवाले आजको प्रतिष्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शिक्षा तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन र मुलुकको अर्थतन्त्रलाई तीव्र रुपमा रुपान्तरण गर्न सिर्जनात्मक र प्रवर्तनशील युग सुहाउँदो वैज्ञानिक एवं प्राविधिक जनशक्तिको उत्पादन विश्वविद्यालयले गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले विश्वविद्यालयले विद्यार्थी कल्याण सम्बन्धी कार्यहरु बिस्तार र विश्वका अन्य प्रतिष्ठित विश्व विद्यालयहरुसँग सहकार्य गर्दै आफ्नो स्तरोन्नती गर्ने गरी निरन्तरता दिनुपर्ने बताउनु भयो । विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले २९ हजार ७२९ जना विद्यार्थीहरुलाई दीक्षित गर्नुभएको हो ।

 

Spread the love