उत्तरी सीमा नाकाहरु दशँै अगाडि नै खुल्छ ः भन्सार विभाग

भन्सार विभागका निर्देशक मणिराम पौडेलले उत्तरी सीमा नाकाहरु दशँै अगाडि नै खुल्ने बताउनुभएको छ । मंगलवार समितिको कार्यालयमा भएको वैदेशिक व्यापार सम्बन्धी अन्तरक्रिया कार्यक्रमा बोल्दै निर्देशक पौडेलले चीन पक्षहरुसँग छलफल गरेर दशँै अगाडि नै नाका खोल्ने तयारी भएको बताउनुभएको हो । उत्तरी नाकामा नेपालको कोभिड १९ सम्बन्धी स्वास्थ्य मापदण्ड कमजोर भएको भन्दै नाका बन्द गरिएको चीन पक्षले बताउने गरेको उहाँको भनाई छ । निर्देशक पौडेलले अहिले दुवै पक्षको छलफलमा नेपालतर्फको नाकामा स्वास्थ्य मापदण्ड कडाई गरे चीन सीमा खुला गर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बैंकहरुमार्फत ५०० सय डलरसम्मको डेविट कार्ड दिएपछि हुलाकबाट अवैध कारोबार बढेको बताउनु भयो । उहाँले एउटै व्यक्तिहरुले ए बी नाममा डिजिटल कारोबार गरेर हुलाकमार्फत व्यापार गर्ने गरेको जानकारी आएको बताउनु भयो ।
त्यस्तै,नेपाल हिमालय सीमापार वाणिज्य संघका सचिव रामचन्द्र पराजुलीले सरकारले तत्काल उत्तरी सीमा नाकामा रोकिएको सामान ल्याउन पहल गर्न माग गर्नुभयो । उहाँले राजश्व परामर्श समितिलाई लिखित रुपमा नै सुझाव सहित माग पेस गरेको बताउनु भयो । सचिव पराजुलीले चिनियाँ नाका बन्द हुँदा नेपालीहरुको महान पर्व दशैँको लागि खरिद गरेर ल्याएका सामान नाकामा नै रोकिएको बताउनु भयो । उहाँले दशैँमा पनि नाका खुला हुन नसके र सामान आउन नसके व्यापारीहरु पलायन हुने अवस्था आउनसक्ने बताउनु भयो । उहाँले नेपाली व्यवसायीहरुले अर्बौं रुपैयाँमा खरिद गरेर ल्याएका सामानहरु उत्तरी नाका लासा,सिगासे,केरुङ र खासा लगायतका नाकाहरुमा सामानहरु राकिएको बताउनु भयो ।
सचिव पराजुलीले सरकारले व्यवसायीहरुलाई सहजरुपमा व्यापार गर्ने वातावरण बनाउनुपर्ने बताउनु भयो ।

Spread the love