उद्योगको लागि सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नु पर्छ ः व्यवसायी

नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पवन गोल्यानले नेपालको निर्यातजन्य उद्योगको लागि सरकारले श्रमिकलाई तालिमको व्यवस्था गर्नु पर्ने बताउनु भएको छ । बुधबार काठमाण्डौमा नेपाल आर्थिक पत्रकार संघले गरेको कार्यक्रममा उहाँले नेपालको गार्मेन्ट तथा निर्यातजन्य उद्योगहरुमा भारत तथा अन्य देशबाट श्रमिक ल्याएर उद्योग चलाउनु परेकाले नेपाली उद्योगमा नेपाली श्रमिकलाई स्वरोजगार बनाउनु श्रमिकलाई तालिमको आवश्यकता भएको बताउनु भयो । अध्यक्ष गोल्यानले सरकारले गार्मेन्टसम्बन्धि तालिमको राज्यले व्यवस्था गरेमा उद्योगहरुलाई नेपाली श्रमिक सस्तो र दिगो हुने अध्यक्ष गोल्यानको भनाई छ । उहाँले सरकारले नेपालमा उत्पादित बस्तु निर्यातको लागि हवाइ भाडामा सहुलियत तथा एयर कार्गो सेवा सञ्चालन ल्याउन आग्रह गर्नुभयो। सरकारले एयर कार्गो सेवा सञ्चालन गरेर अमेरिकामा नेपाली गार्मेन्टमा उत्पादन भएका बस्तु निर्यात गर्न सके नेपाली गार्मेन्ट उद्योगको ठूलो विकास हुन सक्ने गोल्यानले बताउनु भयो । अध्यक्ष गोल्यानले पछिल्लो समय अमेरिकासँगको सम्बन्ध राम्रो भएकाले नेपालबाट अमेरिका निर्यातहुने बस्तुको डिउटी निशुल्क बनाउन पहल गर्नु माग गर्नु भयो ।

त्यस्तै अध्यक्ष गोल्यानले नेपालमा पाइने मौलिक बस्तुहरु उत्पादनको लागि आवश्यक नीतिगत व्यवस्था गर्नू पर्ने बताउनु भयो । उहाँले नेपालका निर्यातजन्य उद्योगहरुले पनि मौलिक उत्पादनमा जोड दिन आग्रह गर्नु भयो । नेपालको गार्मेन्ट उद्योगले मात्रै नेपालमा २ लाख मानिसहरुलाई रोजगारी र ५ हजार नयाँ उद्योग स्थापना गर्न सकिने तर सरकारले नीतिगत व्यवस्था गर्नु पर्ने अध्यक्ष गोल्यानले बताउनु भयो ।

त्यस्तै, पूर्व वाणिज्य सचिव चन्द्र घिमिरेले नेपालमा पछिल्लो समय व्यापार घाटा बढ्दै गएकाले मुलुक आर्थिक संकटतिर गएको बताउनु भयो । उहाँले मन्त्रालयको सचिवले व्यापार घाटाको विषयमा बोल्दा विगतमा सरकारले लुकाउने गरेको बताउनु भयो । पछिल्लो समय सरकार आफै निर्यातमा भन्दा पनि आयातमा बढी जोड दिएकाले अहिले समस्या आएको उहाँको भनाई छ
त्यस्तै पूर्वसचिव घिमिरेले नेपालको निर्यात भन्दा पनि आयात महँगो हुनुु पर्ने बताउनु भयो । उहाँले मुलुकमा उत्पादित बस्तु सस्तो हुनु पर्ने बताउनु भयो । निर्यात सस्तो र आयात महँगो हुनको लागि राज्यका नीतिहरुले साथ दिनु पर्ने उहाँको भनाई छ । घिमिरेले राज्यका कुनै पनि नीतिहरुले निर्यातजन्य बस्तुको उत्पादनमा सहयोग नगरेको बताउनु भयो । पूर्वसचिव घिमिरेले सिंहदबारमा एउटा सचिवले अर्को सचिवलाई , एउटा मन्त्रीले अर्को मन्त्रीलाई असफल बनाउन लागि रहेको र एउटा नीतिले अर्को नीतिलाई असफल बनाउन लागि रहेकाले समस्या भइरहेको बताउनु भयो ।

Spread the love