उद्योगी व्यवसायीहरुलाई यो सरकारले रातो कार्पेटले स्वागत गर्छ ः गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधवार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरेपनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताउनुभएको हो । उहाँले उद्योग व्यवसायको सुरक्षाको लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनैपनि काममा नचुक्ने प्रतिवद्धतासमेत जनाउनु भयो । गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेपनि बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजश्व वृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने बताउनु भयो ।
उहाँले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरुले सल्लाह सुझाव दिन आग्रह गर्नुभयो । गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरुले पैसा कमाउनुलाई अपराध गर्नु जस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्नेपनि आश्वासन दिनुभयो । उहाँले उद्योगी व्यवसायीहरुले सही ढङ्गले स्वच्छ प्रतिष्र्पधा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नती हुने बताउनु भयो । उहाँले उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने बताउनु भयो । उहाँले कानूनभन्दा बाहिर रहेर काम गर्नेहरुको संख्या ठूलो रहेको भन्दै फोहोर सफा गर्न समय लाग्ने बताउनु भयो । उहाँले फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउनसक्ने भन्दै त्यसको लागि उद्योगी व्यवसायीहरुले दुर्गन्ध सहन तयार हुनुपर्ने बताउनु भयो । उहाँले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएको उल्लेख गर्दै कानूनीको परिधि भित्र रहेर काम गर्ने बताउनु भयो ।
उपप्रधान तथा गृहमन्त्री लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतिको विषय भएको बताउनु भयो । उहाँले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने बताउनु भयो । उहाँले कालोबजारी तथा कानून विपरितका काममा कुनैपनि राजनीतिक दबाब आए कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले गृह मन्त्रालयले राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा व्यवस्थाको विषयमा अध्ययन भइरहेको बताउनु भयो । चेम्बरले गृह मन्त्रीलाई कालोबजारी,सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।

Spread the love