उपत्यकामा निषेधाज्ञा थपियो, सार्बजनिक स्थानमा भेला हुन नपाइने

साउन १०, काठमाडौं । कोरोना रोक्नका लागि भन्दै काठमाडौँ उपत्यकामा साउन २० गतेसम्म निषेधाज्ञा थपिएको छ । आज आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले कोरोनाको जोखिम कायमै रहेको हुँदा निषेधाज्ञा साउन २० गतेसम्मका लागि थप गरेका हुन् ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले केही क्षेत्रमा थप खुकुलो गर्दै उपत्यकाको जारी निषेधाज्ञा साउन २० गतेसम्म थप्ने निर्णय गरेको जानकारी दिए ।
यसअघि पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज रातिसम्मका लागि थपिएको थियो । सबै प्रकारका सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्जन स्थल, रंगशाला सञ्चालनमा लगाइएको रोक कायमै रहेको छ ।

यस्तै खुल्ला स्थानमा मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न तथा भोजभतेर गर्न पनि रोक लगाइएको छ । यस्तै नित्य पूजाबाहेक धार्मिक तथा सांस्कृतिक गतिविधि गर्न पनि रोक लगाइएको छ ।

शैक्षिक संस्था पनि बन्द नै रहनेछन् भने स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म सञ्चालन गर्न नपाइने पनि प्रशासनको सूचनामा उल्लेख छ ।

यसबाहेक परीक्षा तथा सार्वजनिक यातायात स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्ने, लामो दुरीका यातायात सञ्चालन हुन दिने, पसल व्यवसाय साँझ ७ बजेसम्म सञ्चालन गर्न दिनेलगायतका निर्णय भएका छन् । अब सार्बजनिक स्थानमा भेला गर्न पाइने छैन ।

 

Spread the love