एनआईसी एशिया बैंकले गर्‍यो दुर्घटना बीमाबापत ३ परिवारलाई प्रतिपरिवार १० लाख बीमा भुक्तानी

एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध दुर्घटना बीमाबापत ग्राहकका परिवारलाई ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ। बैंकको विभिन्न शाखामा बचत खाता खोलेका तीनजना ग्राहकहरुको दुर्घटनामा मृत्यु भएकाले ग्राहकलाई उपलब्ध गराइएको बीमा लाभअन्तर्गत मृतक खातावालका परिवारलाई प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले कुल ३० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको जनाएको छ।
बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एम्बेस्डर बचत खाता खोलेका स्वर्गीय शिवप्रसाद सुवेदीकी श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्वर्गीय टंकप्रसाद घिमिरेकी श्रीमती डिली मै घिमिरे र सुदूरपश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता एम्बेसडर श्रेणीको खाता खोलेका स्वर्गीय ज्ञानबहादुर चौधरीकी श्रीमती अनिता चौधरीलाई बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ।
खातावालहरुको हितग्राहीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सुदूरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमबीच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका छन्। बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको जनाएको छ।

बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १४ सय ६७ जनाभन्दा बढी ग्राहकहरुले घातक रोग बीमाबापत दुई करोड ४० लाख रुपैयाँ, दुर्घटना बीमाबापत ७० लाख रुपैयाँ र मेडिकल बीमाबापत तीन करोड तीन लाख गरी कुल ६ करोड १३ लाख रुपैयाँभन्दा बढी बीमा रकम पाइसकेको बैंकले जनाएको छ।

Spread the love