एशियाली विकास बैंकले ओखर र फलफूल खेती सुधारका लागि ९ अर्ब लगानी गर्ने

नेपाल सरकार र एशियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी गर्ने भएको छ । सोमवार अर्थ मन्त्रालयमा आयोजित सम्झौता कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्कर र नेपालका लागि एशियाली विकास बैंकका देशीय निर्देशक अर्नौड काउक्विइसबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारका लागि वित्तीय लगानी सम्झौतामा हस्ताक्षर भएको हो । एशियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण पुँजी संशोधनबाट करिव ७ अर्ब ७९ करोड सहुलियत ऋण र एशियाली कोषबाट करिव १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ । परियोजनाका लागि बैंकले विश्वव्यापी कृषि तथा खाद्य सुरक्षा कार्यक्रमबाट १ अर्ब १७ करोड खर्च र नेपाल सरकारले करिव १ अर्ब ८८ करोड रुपैयाँ लगानी गर्ने सम्झौतामा उल्लेख रहेको छ ।
ओखर र फलफूल खेती सुधार परियोजनाबाट प्रदेश १, वागमती, गण्डकी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका करिव ३० हजार घरपरिवार लाभान्वित हुनेछन् । जलवायु सहन सक्ने ओखर र फलफूल प्रजातिका बोटबिरुवा नेपालको पहाडी क्षेत्रको १० हजार हेक्टरमा लगाइने सहमति भएको छ । हस्ताक्षर कार्यक्रममा बोल्दै अर्थ सचिव कृष्णहरि पुस्करले एशियाली विकास बैंकले विगतदेखि निरन्तर रुपमा सहयोग गर्दै आएको स्मरण गर्दै अझै सहयोगको अपेक्षा राखेको बताउनु भयो । उहाँले नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेती सुधारको लागि आवश्यक सहुलियत ऋणका विषयमा प्रक्रिया पुर्‍याएर छिटै काम शुरु गर्नेपनि बताउनु भयो ।

Spread the love