करिव नौं दिन भित्र मतगणना कार्य सम्पन्न हुने निर्वाचन आयोगको अनुमान

निर्वाचन आयोगले करिव नौं दिन भित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले मंगलबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य सो समय भित्र सम्पन्न गरिसक्ने योजना रहेको बताउनु भएको हो । उहाँले बाजुरामा भने मानवीय क्षति भएकाले स्थिति सहज भएपछि त्यहाँको निर्वाचन अधिकृतसँग आवश्यक छलफल गरी मतदानको मिति तय हुने समेत स्पष्ट पार्नु भयो ।
मंसीर ४ गते देशभर एकैसाथ मतदान भएको थियो । त्यसमध्ये १५ वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । हाल प्रतिनिधिसभाको १३८ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको र ४ स्थानमा मतपरिणाम आईसकेको पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताउनु भयो । हाल प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना भईरहेको छ । मतगणना रोकिएको कतिपय स्थानहरुमा भने राजनीतिक सहमती गरेर त्यहाँको मतगणना कार्य सुरु गर्ने पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताउनु भयो । आयोगले सबै क्षेत्रहरुमा मतगणना सुरु भएको मितिले २ दिन भित्र मतगणना गरिसक्ने योजनाका साथ काम गरिरहेको बताएको छ । स्थगन भएका कतिपय स्थानहरुको मत परिणाम भने अझै केही समय पर्खनुपर्नेछ ।

Spread the love