काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने नवनिर्वाचित मेयरको घोषणा

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ । सोमवार महानगरपालिकाको मेयरको शपथग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर साहले काठमाडौं वासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गर्नुभयो ।
त्यस्तै काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले आगामी ५ वर्षको कार्यकाल काठमाडौं बासिन्दाको हक,हित,अधिकार र सहज जीवनयापनको लागि काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले व्यक्तिको सफलता र असफलताको पछि भन्दा पनि संस्थालाई विकास गर्नेमा लक्ष्य राख्ने बताउनु भयो । उहाँले आफूले प्रतिवद्धता जनाएका कुरालाई बजेटमा समावेश गरेर सहअस्तित्व, सहकार्य र समन्वयमा काठमाडौंलाई विकास गर्न लागिपर्ने बताउनु भयो । काठमाडौं नगर कार्यपालिकाको बैठक आज ४ बजे बस्ने र बैठक प्रत्यक्ष प्रशारण हुने भएको छ ।

Spread the love