काठमाडौंमा छठ पर्वको तयारी सुरु

कार्तिक २२,काठमाडौं । मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ मनाईने छठ पर्वको तयारी काठमाडौंमा पनि सुरु गरिएको छ ।

विशेषगरी तराईमा जिल्लाहरुमा मनाईने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यका र पहाडी क्षेत्रहरुमा समेत मनाउन थालिएको छ । यसै अवसर पारेर गौरीघाटमा छठी माताको पूजाका लागि छठ घाट निर्माणको काम भईरहेको छ । छठ पूजा समिति कार्यालयको स्थापना गरेर त्यसको निर्माण कार्यलाई तीव्रता दिइएको हो । काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पर्व नमनाईने भएको छ । निर्माण कार्यले पूर्णता नपाएकाले कमल पोखरीमा छठ पर्व यस वर्ष मनाईने छैन । तर गहना पोखरी, नाग पोखरी, बागमती नदी किनारामा भने छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ ।

त्यसैगरी पहाडि जिल्लाहरुका कतिपय नदी, किनारा र पोखरीहरुमा पनि यो पर्व मनाउने गरि तयारी थालिएको छ । ४ दिनसम्म विशेष रुपमा मनाईने यो पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ । ब्रतालुहरुले पर्व सुरु हुन एक दिनअघि नै उसिनिएका धानको चामल, कोदो, माछामासु, मुसुरोसहितका धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्य बस्तुहरु नखाने चलन छ । यो विधिलाई ‘अरबा–अरबाईन’ भनिन्छ । आज आईतबार ‘अरबा–अरबाईन’ गरेका ब्रतालुहरुले भोलि अर्थात चौंथी तिथिमा ‘नहाय–खाय’ र पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खानेकुरा खाएर खरना विधि सम्पन्न गर्दछ । पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार ब्रत बसेर साँझपख पवित्र जलाशायमा गई अस्ताउँदो सूर्यलाई अध्र्य दिईन्छ । सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएपछि यो पर्व समापन गरिने परम्परा आएको छ ।

Spread the love