काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलको उम्मेदवारी मनोनयन दर्ता

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । सोमवार राष्ट्रियसभा गृहमा स्थापना गरिएको काठमाडौं महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि दुवै जनाले उम्मेदवारी दर्ता गराउनुभएको हो । प्रदेश सांसदसमेत रहनुभएका स्थापित २०५४ मा काठमाडौं महानगरको मेयरमा निर्वाचित हुनुभएको थियो । स्थापित पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा काठमाडौं महानगरको मेयरमा पुनः मनोनित हुनुभएको थियो । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गरेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मेयरका उम्मेदवार स्थापितले गठबन्धन भन्दा डबल भोट ल्याएर चुनाव जित्ने दाबी गर्नुभयो । उहाँले आफू प्रमाणित व्यक्ति भएकोले चुनाव जित्नलाई नियमको प्रतिक्षामात्रै गरेको बताउनुभयो । उहाँले त्रिचन्द्र कलेजलाई पढ्न लायक बनाउनु आफ्नो पहिलो प्राथमिकता भएको बताउनु भयो ।
त्यस्तै उपमेयरमा नेकपा एमालेबाट डंगोलले उम्मेदवारी दर्ता गराउनुभयो । उहाँ काठमाडौं सन् २०११ की मिस नेवा हुनुहुन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले सञ्चारकर्मी डंगोललाई उपमेयर बनाउने निणर्य गरेको थियो । यसअघि डंगोलले स्वतन्त्र उम्मेदवारका रुपमा आफू मेयरमा उठ्ने घोषणा गर्दै प्रतिवद्धतापत्रसमेत सार्वजनिक गर्नुभएको थियो । उहाँले नेकपा एमालेले देशको विकासका लागि युुवा पुस्तालाई अघि सारेकोले आफू नेकपा एमालेसँग जोडिएको बताउनु भयो । उपमेयरकी उम्मेदवार डंगोलले पदभन्दा बढी महत्व उद्देश्यको भएकोले उपमेयरबाट उम्मेदवारी दिएको बताउनु भयो ।
उहाँले अनुभवी विज्ञहरुको विज्ञता र युवाको जोश मिलेमा सबै क्षेत्रको विकास हुनसक्ने भन्दै अब काठमाडौं महानगरको विकासलाई कसैले रोक्न नसक्ने बताउनु भयो । उहाँले काठमाडौंको विकास चाहने हरेक नागरिकको आफू आवाज भएकोले आफ्नो जित सुनिश्चित भएको दाबी गर्नुभयो । उपमेयरकी उम्मेदवार डंगोलले उहाँले आफ्नो जित जितका लागि मात्रै नभइ जितपछिको कार्यका लागि भएकोले आफू जितको लागि तयार रहेको बताउनु भयो ।

Spread the love