काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायम

थानीय तह निर्वाचन २०७९ मा काठमाडौं महानगरपालिकामा हालसम्मको मतगणना अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गर्नुभएको छ । ६ वटा वडाको मत गणना कार्य जारी रहँदा स्वतन्त्र उम्मेद्वार साह २ हजार १३९ मतसहित अग्र स्थानमा हुनुहुन्छ । बालेन्द्र साहलाई नेकपा एमालेका उम्मेदवार केशव स्थापित (१ हजार १९९) ले पछ्याइरहनु भएको छ । त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवार सिर्जना सिंहले १ हजार ५७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठ २३३ मतसहित चौथो स्थानमा हुनुहुन्छ भने अन्य दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु क्रमशः ढल्केको छाता १, तराजु २८, खड्ग ५, सुँगा १, तीर ६, साँचो १, किताव ४, आधा खोसेलो निकालिएको मकैको घोगो १, पुतली १, लौरो २१३९, रिक्सा १, आँखी झ्यालका उम्मेदवारले २२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै उपमेयरमा नेकपा एमालेको तर्फबाट उम्मेदवार सुनिता डंगोल अग्र स्थानमा हुनुहुन्छ । उहाँले अहिलेसम्म २ हजार २३२ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६४७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै गोलाकार भित्र हँसिया हतौडा ३, ढल्केको छाता १, तराजु ९६, हलो ५४०, मादल १, हँसिया र तारा ३, चक्का पाङ्ग्रो २, कमलको फूल २, हृदय १, खड्ग १, लौरो २७३, क्याप १५, अर्ना २, आँखी झ्यालका उम्मेदवारले २४४ मत प्राप्त गर्नुभएको छ ।
सहायक निार्वचन अधिकृत पौडेलले अहिले ६ वटा वडाको मत गणना भइरहेको जानकारी दिनुभयो । उहाँले महानगरपालिकाको ६ नम्बर वडाको मतगणना कार्य पनि शुरु गरेको बताउनु भयो ।

Spread the love