काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विदेशी पर्यटकको पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनुभएको छ । आईतवार पर्यटन मन्त्रालयमा काठमाडौं विश्व विद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच भएको सम्झौता कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले यस्तो नेपालमा पर्यटकको संख्या बढाउँदै विदेशीको लागि पहिलो गन्तव्यस्थल नेपाललाई बनाउनुपर्ने बताउनुभएको हो । उहाँले सरकारले नेपालको प्रकृति,संस्कृति र एडभान्चरसँग जोडिएका विषयमा केन्द्रित भएर पर्यटन विकास गरी विश्वका पर्यटकलाई आकर्षित गर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रका ब्राण्डिङहरुलाई रिब्राण्डिङ गर्ने बताउनु भयो । उहाँले यसरी पर्यटन क्षेत्रको विकास गर्दा पर्यटकका संख्यामा वृद्धि हुने अपेक्षा गरेको बताउनु भयो । मन्त्री श्रेष्ठले नेपालमा अत्याधिक रुपमा पर्यटकको संख्या वृद्धि भए अहिलेको जनशक्तिले नधान्ने भन्दै यसमा वृद्धि गर्दै पर्यटन क्षेत्रलाई थप व्यवस्थित बनाउनुपर्ने बताउनु भयो ।
मन्त्री श्रेष्ठले नेपालमा आएका पर्यटकका लागि पर्यटकको देश अनुसारकै खाना बनाउनुपर्छ भन्ने मान्यताको अत्य गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाली खानामा पनि धेरै विविधता, मौलिकता र पौष्टिकता रहेकाले पर्यटकहरुलाई नेपाली खाना खुवाउने सोच राख्नुपर्ने बताउनु भयो । मन्त्री श्रेष्ठले नेपाली मौलिक तथा परम्परागत खाना विश्वका अन्य मुलुकको भन्दा कमी नभएको दाबी गर्नुभयो । उहाँले नेपालको मौलिकतालाई पहिचान दिने गरी होटल व्यवस्थापनको क्षेत्रलाई विकास गरी नेपालको छुट्टै पहिचान बनाउन सकिने बताउनु भयो । मन्त्री श्रेष्ठले अहिलेसम्म नेपाललाई सगरमाथा,गौतम बुद्ध जन्मभूमिको रुपमा प्रचार गरिएको भन्दै अब हस्पिटालिटी क्षेत्रको पनि प्रचार गर्न आवश्यक रहेको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा काठमाडौं विश्व विद्यालयका उपकुलपति डा.भोला थापाले नेपालले स्वीस,अष्ट्रियन हस्पिटालिटी भन्दा पनि नेपाली हस्पिटालिटी खोजेको बताउनु भयो । उहाँले नेपालले पूर्वीय आथित्यतालाई विश्वामा पुर्‍याउन सक्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । डा.थापाले सरकार सानासाना कार्यक्रममा अल्झेर बस्नुभन्दा पनि ठूला अनुसन्धानका कार्यक्रम अगाडि बढाउनु पर्ने बताउनु भयो ।
उहाँले नेपालले विश्वमा नै होटल व्यवस्थापनको क्षेत्रमा नेतृत्व लिनुपर्ने बताउनु भयो । उहाँले नेपालले दक्ष जनशक्ति उत्पादन गरेर विश्वका अन्य मुलुकहरुमा जागिर खान पठाउने परम्पराको अन्त्य गर्नुपर्ने बताउनु भयो । पर्यटन शिक्षाको क्षेत्रमा अत्यावश्ययक दक्ष जनशक्ति उत्पादनका लागि सहकार्य गर्ने काठमाडौं विश्वविद्यालय र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबीच सम्झौता भएको छ ।

Spread the love