कीर्तिमानी आरोही सानु शेर्पालाई पर्यटन मन्त्रालयको सम्मान

कीर्तिमानी आरोही सानु शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मान गरेको छ । आरोही शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले आज (बुधवार) मन्त्रालयमा नै बोलाएर सम्मान गर्नुभएको हो । उहाँले एक महिनाको आफ्नो मन्त्रीको तलव सम्मान स्वरुप ७० हजार ७ सय ३० रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभयो । सम्मान कार्यक्रमपछि बोल्दै पर्यटनमन्त्री श्रेष्ठले हिमाल आरोहण गर्नेकुरा कम चुनौतिको विषय नभएको बताउनु भयो । उहाँले आरोही शेर्पाले ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल दुई/दुई पटक आरोहण गरेर विश्व कीर्तिमानी कायम गर्नुभएको उपलक्ष्यमा आफूले उहाँको सम्मानस्वरुप एक महिनाको तलव हस्तान्तरण गरेको बताउनु भयो । मन्त्री श्रेष्ठले सगरमाथा आरोहण गर्ने व्यक्तिलाई अन्य देशमा देशको गौरवको रुपमा सम्मान दिने गरिएपनि नेपालमा भने त्यत्ति चासो नदिएको आरोप लगाउनु भयो । आरोही शेर्पाले अहिलेसम्म ७ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।
मन्त्री श्रेष्ठले कीर्तिमानी आरोही सानु शेर्पासहितका हिमाल आरोहीहरुको चर्चा विश्वमा गर्नसके पर्यटन क्षेत्रको प्रचारका साथै नेपालको छवि पनि विश्वमाझ पुग्ने बताउनु भयो ।

Spread the love