कुवेतमा जारी एएफसी एशियन कप छनोटको खेलमा नेपाल पराजित

कुवेतमा जारी एएफसी एशियन कप छनोटको तेस्रो चरणको खेल अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कुवेतको जाबिर अल अहमद स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली कुवेतसँग ४-१ को गोल अन्तरले पराजित भयो । शुरुवातबाट नै दबाब झेलेर खेलेको नेपाली टोली घरेलु टोलीबिरुद्ध निरिह देखिएको थियो । घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गर्दा फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक/एक गोल गरे । नेपालका लागि दर्शन गुरुङले इन्जुरी समयमा सान्त्वना गोल फर्काएका थिए ।
शुरुवात प्रतिष्पर्धात्मक बनेको खेलको २८ औं मिनेटमा फाहदले हेडमार्फत गोल गर्दै कुवेतलाई शुरुवाती अग्रता दिलाएका थिए । त्यसअघि १८ यार्ड टाढाबाट हानेको कडा सटलाई गोलकिपर दीप कार्कीले उत्कृष्ट बचाउ गर्दै बाहिर फल्दिएका थिए । सोही कर्नर बलमा चलाखिपूणर् तरिकाले कुवेत गोल गर्न सफल भएको हो । त्यसपछिको पहिलो हाफको खेलमा नेपाल खेलमा फर्किन प्रयास गरेपनि कुनै सम्झन लायक प्रदर्शन गर्न सकेन । पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप तीन गोल खान पुग्यो ।
४८ औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए । खेलको ५७ औं मिनेटमा नेपालका नवयुग श्रेष्ठको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो । खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए । पछि परेसँगै थप दबाब झेलेको नेपालबिरुद्ध घरेलु टोलीले ७३ औं मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४-० ले अघि रह्यो । त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले सान्त्वना गोल गरेसँगै नेपाल ४-१ ले पराजित हुन पुग्यो ।
यससँगै नेपालले लगातार दोस्रो हार भोगेको छ । नेपालले २ खेलमा अंक जोड्न सकेको छैन र तालिकाको पुछारमा छ । यस अघिको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो । यस हारसँगै नेपालको एशिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ । नेपालमाथि जित निकालेको कुवेतले छनोट खेलमा पहिलो जित निकालेको छ । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा कुवेतलाई इण्डोनेसियाले हराएको थियो । अब नेपालले अन्तिम खेल इण्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।

Spread the love