कृषि उत्पादन वृद्धि हुनेगरी काम गर्छुः कृषिमन्त्री साह

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रमा कम खर्च गरी धेरै उत्पादन वृद्धि हुनेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै किसानहरुले खर्च अनुसारको उत्पादन गर्न नसकेको भन्दै कम खर्च गरी धेरै उत्पादन वृद्धि गर्नेगरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले प्रतिबिघा ४० हजार खर्च हुन्छ भने आम्दानी १५ हजार मात्र हुने बताउनु भयो । उहाँले आम किसान निराश भएकाले अब थोरै खर्चमा धेरै आम्दानी हुने वातावरण बनाउने बताउनु भयो । उहाँले उखुको मूल्य प्रतिक्विन्टल २० रुपैयाँ वृद्धि गर्ने, कृषि उत्पादनमा जोड दिँदै लगानी दशक घोषणा र कृषि बीमाको अनलाइन भुक्तानी गर्नेगरी निणर्य गरिरहेको बताउनु भयो । उहाँले किसानका पीडामा मलम लगाउने गरी काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले आफू स्वयं किसानको छोरी भएकाले आम किसानका मर्म र पीडा थाहा भएकाले मुख्य जिम्मेवारी आम किसानका पीडामा मलम लगाउनु पहिलो प्राथमिकता रहेको बताउनु भयो । उहाँले कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको बताउनु भयो । उहाँले अब अनलाइन भुक्तानी हुनेगरी पहिलो निणर्य गराएको भन्दै राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थ मन्त्रालयमा पठाउने निणर्य भएको पनि बताउनु भयो । उहाँले आफू मन्त्री भएपछि उखु ढुवानीको मूल्य प्रतिक्विन्टल ५९० रुपैयाँबाट बढाएर ६१० रुपैयाँ पुर्‍याएको बताउनु भयो । मन्त्री साहले दुग्धजन्य उत्पादन आयात नहुने गरी काम गर्नुपर्ने बताउनु भयो ।
मन्त्री साहले नेपालमा २५ मेट्रिक टन दुध उत्पादन हुने भन्दै दुधबाट दुध, घिउ, खुवा, चकलेट, छुर्पी, चिज, पनीर आदि उत्पादन गर्न सकिने बताउनु भयो । उहाँले स्वदेशमै रोजगारी सिर्जना हुनेगरी काम गर्न सरकार लागिरहेको बताउनु भयो । उहाँले अहिलेका चुनौति सामना गर्न सबै पक्ष एकै ठाउँमा उभिनुपर्ने आवश्यकता रहेको बताउनु भयो ।

Spread the love