कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

पौष १५,काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनु भएको छ ।

अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति सम्भव भएको उल्लेख गर्दै त्यसका लागि कृषि क्षेत्रलाई परिचालित गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । शुक्रबार काठमाडौंमा आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघको १४ औं वार्षिक साधारण सभामा बोल्दै उहाँले कृषि क्षेत्रलाई व्यवस्थित, संगठित र परिचालित गरेर मुलुकको अर्थतन्त्र निर्माणका लागि राज्यले विशेष लगानी गर्नुपर्ने आवश्यक्ता आंैल्याउनु भयो । अर्थमन्त्री शर्माले किसानहरुलाई संगठित गरेर कृषि क्षेत्रको विकासमा लगानी बढाउन पनि सहकारीहरुलाई सचेत गराउनु भयो । उहाँले त्यसका लागि सरकारले समेत विशेष ध्यान दिने आश्वासन दिनु भयो ।

अर्थमन्त्री शर्माले कृषि क्षेत्र र किसानहरु राज्यबाटै उपेक्षित भएको स्विकार गर्दै अव उनीहरुलाई परिचालित गरेर कृषिमा आधारित उद्यमहरु स्थापना गर्न लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उहाँले कृषि क्षेत्रलाई उद्यममा बदलेर राष्ट्रिय पूँजी निर्माण गर्ने अभियानमा सहकारी संस्थाहरुले भूमिका महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गर्नु भयो ।

Spread the love