कोरोनाको नयाँ भेरियन्टबारे सरकारको तयारी

मङ्सिर १३ , काठमाडौ । अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तयारी थालेको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले अफ्रिकी मुलुकमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट बच्न सरकारले तीव्र तयारी थालेको बताउनु भएको हो । उहाँले नेपालमा कोरोना संक्रमण कायमै रहेकोले र हालै देखिएको नयाँ भेरियन्टका कारण अफ्रिकी मुलुकबाट नेपाल आउने नागरिकहरुलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन विभिन्न एयरलाइन्सहरुलाई निर्देशन दिइसकेको बताउनु भयो । प्रवक्ता पोखरेलले अहिलेसम्मको जानकारी अनुसार कुनै पनि देशलाई नतोकि अफ्रिकी मुलुकमा मात्र कोरोनाको नयाँ प्रकार देखिएको भनिएकोले अफ्रिका महादेशबाट नेपाल आउनेलाई प्रवेश नदिने बताउनु भयो । उहाँले भाइरसको बारेमा सबै कुरा जानकारी पाएपछि त्यहीअनुसार सरकारले थप तयारी थाल्ने बताउनु भयो ।

प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताउनु भयो । उहाँले नेपाल भित्रिने नाकाहरुमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुलाई चेकजाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुर्‍याउन निर्देशन दिएको बताउनु भयो । दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा नयाँ भेरिएन्ट बी.१.१.५२९ ‘ओमिक्रोन’ पुष्टि भएको थियो । त्यसपछि यो नयाँ भेरिएन्ट अत्यधिक मात्रामा उत्परिवर्तन हुने भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले थप चुनौती बढेको भन्दै शतर्कता अपनाउन चेतावनी दिएको छ ।

Spread the love