खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै महानगरपालिका अगाडि बिरोध

खुलामञ्चलाई पार्किङस्थल बनाउन लागिएको भन्दै टुँडिखेल संरक्षण अभियान ‘अक्युपाई टुँडिखेल’ले बिरोध गरेको छ । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा ३ तले भूमिगत पार्किङ बनाउने योजना अगाडि सारेपछि अभियन्ताहरुले सोमवार महानगरको निणर्यको बिरुद्धमा बिरोध गरेका हुन् । उनीहरुले महानगरपालिकाको केन्द्रिय कार्यालय बागदरबार अगाडि बिरोध प्रदर्शन गरेका छन् । अभियन्ताहरुले टुँडिखेल (खुलामञ्च) को ऐतिहासिक तथा पुरातात्विक महत्व मासिने गरी पार्किङ बनाउन नहुने बताउँदै बिरोध गरेका थिए । स्थानीयवासी र संरक्षण अभियान्ताहरुले सोमवार बिरोध जनाउँदै महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डंगोललाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
टुँडिखेललाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनीहरुको माग छ । उनीहरुले खुलामञ्चमा अण्डरग्राउण्ड पार्किङको सोच नै गलत रहेको अभियन्ताहरुले बताउँदै आएका छन् । बिरोध कार्यक्रममा बोल्दै अक्युपाइ टुँडिखेल अभियानका प्रवक्ता सञ्जय अधिकारीले सार्वजनिक जग्गालाई हामी सबैले संरक्षण गर्नुपर्ने अहिलेको आवश्यक्ता भएको बताउनु भयो । उहाँले जनतादेखि जनप्रतिनिधिहरु सार्वजिनक जग्गा संरक्षणका लागि गम्भीर हुनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले महानगरपालिकाको अहिले आएको युवा नेतृत्वले सार्वजनिक जग्गालाई सरकारी जग्गा बुझेर जनभावना विपरित काम गरिरहेको आरोप लगाउनु भयो । उहाँले महानगरपालिका सार्वजिनक जग्गाको संरक्षक भएपनि मालिक नभएको बताउनु भयो ।
त्यस्तै अभियानको कार्यक्रममा सहभागी बन्नुभएका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले काठमाडौं जस्तो ऐतिहासिक र सांस्कृतिक ठाउँमा जथाभावी संरचना बनाउन नमिल्ने बताउनु भयो । उहाँले टुँडिखेलजस्तो ऐतिहासिक स्थानमा अण्डरग्राउण्ड पार्किङजस्ता कुनैपनि संरचना बनाउन दिनु नहुने बताउनु भयो । उहाँले पार्किङ चाहिएको भए भृकुटीमण्डपमा अण्डरग्राउण्ड पार्किङ बनाउन सुझाव दिनुभयो ।
गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निणर्य गरेको थियो । अहिले महानगरपालिकाको उक्त निणर्य विवादित बनेको छ ।

Spread the love