गुणस्तरीय जीवनयापनका लागि जनताको क्रय शक्ति बढाउन आवश्यक छ ः उर्जामन्त्री 

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रय शक्ति बढाउन आवश्यक रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा युएनडिपीले गरेको मानव विकास प्रतिवेदन सन् २०२१/२०२२ को रिपोर्ट सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताउनुभएको हो । उहाँले गुणस्तरीय जीवनयापनका लागि जनताको क्रय शक्ति बढाउन देशको अर्थतन्त्र सबल हुनुपर्ने बताउनु भयो । मन्त्री भुसालले कृषि, पर्यटन र उर्जाबाट नै देशको सबल अर्थतन्त्र निर्माण गर्न सकिने भन्दै देश विकासका लागि जलश्रोत लगायतका प्राकृतिक श्रोतको उचित प्रयोग गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले औद्योगीकरण, यातायात सञ्चालन, सिंचाई, कृषि विकास, खानेपानीको विकासमा विद्युतीय सामग्रीको प्रयोग गरेर उज्यालो भविष्य निर्माण गर्न सक्नुपर्ने बताउनु भयो । मन्त्री भुसालले उर्जाको आन्तरिक खपत बढाउनका साथै खपत नहुने उर्जा निर्यात गरेर भएपनि आर्थिक विकास गर्न जरुरी रहेको पनि बताउनु भयो । उहाँले जलश्रोत र उर्जाको दिगो विकासमार्फत आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै समृद्ध नेपाल निर्माणका लागि सबैले आफ्नो आफ्नो क्षेत्रबाट योगदान दिन आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । मन्त्री भुसालले देशमा उत्पादन हुने विद्युत पूणर् रुपमा नविकरणीय, स्वच्छ उर्जा भएकोले हाल देशको करिव ९५ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको दाबी गर्नुभयो । उहाँले आगामी दुई वर्षभित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत सेवा पुग्नेगरी योजना बनाइ कार्यान्वयन भइरहेको पनि बताउनु भयो । उहाँले सरकारले मासिक २० युनिटसम्म विद्युत खपत गर्ने विपन्न नागरिकलाई निःशुल्क विद्युत सेवा दिने र निःशुल्क मिटर जडान गर्ने व्यवस्था मिलाएको उल्लेख गर्दै विद्युत आधारभुत आवश्यक्ताका साथै उत्पादनको साधन भएको बताउनु भयो ।
मन्त्री भुसालले यो आर्थिक वर्षको अन्त्यसम्म करिव १६ अर्बको विद्युत व्यापार हुने प्रक्षेपण गरेको बताउनु भयो । उहाँले यस वर्ष आन्तरिक विद्युतको खपत करिव २० प्रतिशतले बढेको र हाल प्रतिव्यक्ति वार्षिक विद्युत खपत ३५१ युनिट रहेकोमा आगामी दिनमा उल्लेख्य वृद्धि हुने अपेक्षा राखेको बताउनु भयो । नेपाल युएनडिपीको प्रतिवेदनअनुसार १९३ वटा देशमध्ये मानव विकास वर्गीकरणको १४३ औं स्थानमा छ । नेपाल मध्यम मानव विकासको अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ ।

Spread the love