ग्लोवल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर

ग्लोवल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर भएको छ । सामेवार काठमाडौंमा एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो । यसअघि ग्लोवल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पती दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् । मर्जर पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०० अर्ब, कुल कर्जा ३७९ अर्ब भन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पंँुजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसावले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।
नयाँ बैंकको नाम ग्लावबल आइएमई बिओके लिमिटेड बैंक रहनेछ भने सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सम्झौतामा उल्लेख छ । बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य कायम रहनुहुने भएको छ । २१ वटा बैंक तथा वित्तीय संस्थाहरु गाभिएर बन्ने ग्लोवल आइएमई बिओके लिमिटेडमा ५ वटा क वर्गका वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् । साथै, दुवै बैंकले असोज मसान्तसम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् ।
हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोवल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ क्षेत्रको विकास हुने बताउँदै ठूला पूर्वाधारमा लगानी गर्न, दूरदराजसम्म वित्तीय पहुच पुर्‍याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने बताउनु भयो । उहाँले मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्नेपनि बताउनु भयो । त्यस्तै,बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र समृद्धिमा बैैंक तथा वित्तीय संस्थाको भुमिका महत्वपूणर् रहने बताउनु भयो । उहाँले मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।
दुई बैंकहरुको मर्जरपश्चात् कुल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखासहित बैंकिङ सेवा, ६१ बिस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाख भन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोवल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।

Spread the love