चालू आर्थिक वर्षमा ११ खर्व ५२ करोड राजस्व परिचालन गर्ने अनुमान

सरकारले चालू आर्थिक वर्षमा ११ खर्व ५२ करोड राजस्व परिचालन गर्ने अनुमान गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आईतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नु भएको सरकारको आगामी आर्थिक वर्षको बजेटमा सो कुरा उल्लेख गरिएको हो । अर्थमन्त्री शर्माले कोभिड महामारीको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलनको अवस्था सन्तोषजनक रहेको बताउनु भयो । उहाँले चालू आर्थिक वर्षको राजस्व परिचालन लक्ष्य अघिल्लो वर्षको तुलनामा १८ प्रतिशत बढि भएको पनि बताउनु भयो । उहाँले भन्नु भयो, ‘कोभिडको विषय परिस्थितिमा पनि हालसम्मको राजस्व संकलन अवस्था सन्तोषजनक रहेको छ । चालू आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही रु ११ खर्व ५२ अर्व ४२ करोड संकलन हुने अनुमान छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढि हो । चालू आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान रु २४ अर्व ८१ करोड र ऋण रु १ खर्व ७२ अर्व ८८ करोड परिचालन हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको बैशाख मसान्तसम्म रु १ खर्व ३५ अर्व आन्तरिक ऋण उठाई सकिएको छ । चालू आर्थिक वर्षमा रु २ खर्व ३१ अर्व ३० करोड आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको छ । ’

Spread the love