जनकपुरमा ई–रिक्साको अत्याधिक चाप

कार्तिक २२,काठमाडौं । प्रदेश २ को राजधानी जनकपुरधाममा ई रिक्साको अत्याधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो । नगरमा दर्ता नगरीएका रिक्सा पनि सञ्चालन भइरहेको स्थानीयहरु बताउँछन् । नगरमा अत्याधिक ई रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको छ । विशेष गरेर रामाचन्द्र चोक र बस पार्क क्षेत्रमा सर्वसधारणहरुलाई निकै समस्या हुने गरेको छ । नगर क्षेत्रमा गुड्ने गरेको ई–रिक्साको कुनै भाडा समेत तोकिएको छैन । जसकारण मनपरी भाडा लिने गरेको स्थानीयहरुको गुनासो छ । जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रुट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ । तर रुट परमिटको आधारमा कुनै पनि ई–रिक्सा सञ्चालनमा नआएको स्थानीयहरुको गुनासो छ ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिताकुमारी मिश्रले आफूहरु ई रिक्सा पार्किङको व्यवस्थापनलगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेकै कारण समस्या पैदा भएको बताउनुभयो । उहाँले छठ पर्वपछि पार्किङ र भाडालगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउने बताउनुभयो ।

उपमेयर मिश्रले ट्राफिक व्यवस्थापन, पार्किङ, वन वेलगायतका विषयहरूको चाँडै टुङ्गो लगाउने बताउनुभयो । पछिल्लो समय बिना कुनै मापदण्ड नगरक्षेत्रमा थपिँदै गएका ई रिक्साहरूका कारण जनकपुरको आवागमनसमेत असहज बन्दै गएको छ । चालकहरुले अत्याधिक गतिमा रिक्सा चलाउने र जुनसुकै ठाउँमा पनि रोकिदिने गर्दा नगरक्षेत्रमा अस्तव्यस्तता बढेको देख्न सकिन्छ । अहिलेसम्म यसको व्यवस्थापनको विषयमा सरोकारवाला निकाय नै मौन रहेको स्थानीयहरु बताउँछन् ।

Spread the love