जनकपुर चुरोट कारखाना सञ्चालनमा ल्याउने सरकारको तयारी

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जनकपुर चुरोट कारखाना सरकारले सञ्चालनमा ल्याउने तयारी गरेको बताउनुभएको छ । बुधवार उद्योगमन्त्री बडूले विगत लामो समयदेखि बन्द रहेको जनकपुर चुरोट कारखानाको निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारको स्वामित्वमा सञ्चालन भइ नाम कमाएर पनि बन्द भएको चुरोट कारखानाका मेसिनहरुको अध्ययन गरेर उपयोगमा आउने मेसिनलाई सञ्चालनमा ल्याउने बताउनु भयो । मन्त्री बडूले सरकारले राष्ट्रिय उत्पादन बढाउनको निम्ति भएका उद्योगहरुको क्षमता वृद्धि गर्ने,पूणर् क्षमतामा चलाउने,नयाँ उद्योग खोल्ने र रुग्ण उद्योग सञ्चालनमा ल्याउने योजना बनाएको बताउनु भयो । उहाँले पुराना उद्योगहरु पूणर् क्षमतामा चलाउने र नयाँ उद्योग खोल्न स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई विभिन्न सहुलियत दिएर सरकारले आकर्षित गर्ने र सरकारको स्वामित्वमा रुग्ण उद्योगहरु निजी क्षेत्रसँग सहकार्य वा निजी क्षेत्रलाई भाडामा दिएर भएपनि सञ्चालनमा ल्याउने उल्लेख गर्नुभयो । मन्त्री बडूले अहिले सरकारको स्वामित्वमा रहेका विराटनगर जुटमिल,जनकपुर चुरोट कारखाना,हेटौंडा कपडा उद्योग, बुटवल घागो उद्योग,गोरखकाली रबर उद्योग बन्द रहेको बताउनु भयो । उहाँले मुलुकको आर्थिक अवस्था सुधार गर्न,व्यापार घाटा कम गर्न,आयात प्रतिस्थापन गर्नको लागि बन्द उद्योग सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो ।
मन्त्री बडूले मुलुक आयातमुखी भइरहेको अवस्थामा राष्ट्रिय उत्पादन बढाउन जरुरी रहेको बताउनु भयो । उहाँले मुलुकको उत्पादन बढ्यो भने आयात कम गर्न सकिने दाबी गर्नुभयो । मन्त्री बडूले अब निजी क्षेत्र र सरकार दुवैले निर्यातजन्य उद्योग स्थापना गर्नुपर्ने बताउनु भयो । उहाँले सरकारले चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा निर्यात उद्योग चलाउनको लागि विशेष सहुलियत दिने नीति बनाएको समेत बताउनु भयो । मन्त्री बडूले जनकपुर चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउनको लागि निजी क्षेत्र र प्रदेश सरकारसँग पनि समन्वय गर्ने बताउनु भयो ।

Spread the love