जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बन्दैनः उपप्रमुख डंगोल

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले जनचाहना विपरित टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ नबनाइने बताउनुभएको छ । सोमवार अक्युपाई टुँडिखेल अभियानले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउनु नहुने भन्दै बुझाएको ज्ञापन पत्र बुझ्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अण्डरग्राउण्ड पार्किङ टुँडिखेलमा आवश्यक्ता हो वा होइन भन्ने बारेमा स्थानीयवासीको आवश्यक सुझाव लिएर मात्रै काम अघि बढाइने बताउनु भयो । उहाँले धरहरा, काठमाडौं प्लाजा लगायतमा सञ्चालन हुने अण्डरग्राउण्ड पार्किङले सबै समस्या समाधान गरेको खण्डमा नयाँ संरचना बनाउन आवश्यक नै नरहेको बतउनु भयो । उहाँले टुँडिखेलमा अण्डरग्राउण्ड पार्किङ बनाउने वा नबनाउने भन्नेबारेमा भने सर्वसाधारणको सुझाव लिएर मात्रै महानगर अघि बढ्ने बताउनु भयो ।
गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निणर्य गरेको थियो । अहिले महानगरपालिकाको उक्त निणर्यलाई लिएर विवाद हुँदै आएको छ ।

Spread the love