जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरी हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीलाई निर्देशन दिनु भएको छ । मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरुको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिनु भएको हो । त्यस अवसरमा उहाँले अव मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश गर्ने उल्लेख गर्दै त्यसलाई समेत ध्यानमा राखेर काम गर्न सबै मन्त्रीहरुलाई सचेत समेत गराउनु भयो । सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाली जनताको विकास र समृद्धिको आकांक्षालाई सम्बोधन हुनेगरी राष्ट्रको हितलाई सर्वोपरी राखेर काम गर्न बैठकमा निर्देशन दिनु भएको नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक अवस्थाको बारेमा प्रधानमन्त्री देउवालाई ब्रिफिङ गर्नु भएको थियो भने अन्य मन्त्रीहरुले आ–आफ्नो मन्त्रालयको काम कारबाहीका बारेमा जानकारी गराउनु भएको थियो ।

Spread the love