ठूलो बैंक र ठूलो पुँजी बन्दैमा मनोपोली बढ्दैनः पूर्वगभर्नर नेपाल

पछिल्लो समय वाणिज्य बैंकहरुको बिग मर्जरपछि नेपालका पूर्वगभर्नरहरुले फरक-फरक धारणा राखिरहेका छन् । पूर्वगभर्नरहरुबाट बैंकहरुको बिग मर्जरले नेपालको बैंक तथा वित्तीय क्षेत्रमा देखिने प्रभावका विषयमा फरक-फरक धारणा आउनुलाई चासोका साथ हेरिएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवि नेपालले बैंकहरु गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रियाबाट बैंक तथा वित्तीय संस्थाको पुँजीको आधार बिस्तार भई जोखिम वहन गर्नसक्ने क्षमता अभिवृद्धि हुने बताउनु भयो । उहाँले सानो पुँजीको आधार भएका धेरै संख्याका बैंक तथा वित्तीय संस्थाहरूको सट्टामा थोरै संख्यामा सबल र सक्षम बैंक तथा वित्तीय संस्था कायम हुने बताउनु भयो । उहाँले बैंकहरुको सञ्चालन खर्चमा कमी आउने, प्रतिष्पर्धात्मक क्षमता अभिवृद्धि हुने, संस्थागत सुशासन कायम भई स्वस्थ प्रतिष्पर्धाको माध्यमबाट सेवा प्रदान हुने दाबी गर्नुभयो । पूर्वगभर्नर डा. नेपालले मुलुकभर बैंक तथा वित्तीय पहँुच पुर्‍याउनको लागि बैंक खोल्न लाइसेन्स राष्ट्र बैंकले दिएको भन्दै सोचेजस्तो वित्तीय पहुँच नपुगेसँगै लाइसेन्स बन्द गरेको बताउनु भयो । उहाँले मुलुकमा बैंक वित्तीय पँहुच बिस्तार भएसँगै बैंकहरुको संख्या घटाउन तथा कतिपय बैंक तथा वित्तीय संस्थाहरु समस्याग्रस्त भएर लगानीकर्ता र निक्षेप कर्ताको २० अर्ब रुपैयाँ डुबेर राष्ट्र बैंकमा १८ बैंकको समस्याग्रस्त बैंकका शाखा स्थापना गरिएको समेत बताउनु भयो ।
उहाँले बैंकहरुको अवस्था हेरेर धेरै बैंक समस्याग्रस्त भएर धेरै नागरिकको पैसा डुब्ने,बैंकप्रति विश्वास गुम्ने अवस्था आएपछि वित्तीय क्षेत्रलाई सबल बनाउनको लागि मर्जरलाई प्रोत्साहन गरेर बैंकको पुँजी वृद्धिलाई आफू गर्भनर रहँदा अगाडि बढाएको नीतिले अहिले सार्थकता पाइरहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वगभर्नर डा.नेपालले गभर्नर भएको बेला बिग मर्जरको नीति ल्याएपनि विभिन्न कारणले रोकिएका र मुलुकको आवश्यकता अनुसार अहिले बैंकहरु आफैँ मर्जरमा गएको भन्दै बैंकहरु मर्जरमा जानु आवश्यक रहेको पनि बताउनु भयो । उहाँले नेपाली बैंकिङ क्षेत्रमा नयाँनयाँ प्रविधि आएपनि सोचेजति प्रविधि नभित्रिएकाले केन्द्रिय बैंकसम्म त्रासमा बस्नुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो । उहाँले ठूलो पुँजीको ठूलो बैंक हुँदा विदेशी मुलुकहरुसँग हात फैल्याउनुपर्ने अवस्था नआउने बताउनु भयो ।
पूर्वगभर्नर डा.नेपालले नियमनकारी निकाय राष्ट्र बैंकलाई नियमन र सुपरीवेक्षण गर्ने चुनौति थपिएको बताउनु भयो । उहाँले चुनौति देखेर नै केन्द्रिय बैंकले चालुपुँजी कर्जा मार्गदर्शन लागू गर्न खोजेको भन्दै चालुपुँजी कर्जा मार्गदर्शन पहिला नै लागू गर्नुपर्ने भएपनि ढिला भएको बताउनु भयो । उहाँले बैंकहरु मर्जरमा गएर ठूलो बैंक र ठूलो पुँजी बनेर मनोपोली नबढ्ने बताउनु भयो । उहाँले राष्ट्र बैंकको मौद्रिक नीति अनुसार बैंकहरु चल्नुपर्ने भएकाले मनोपोली गर्न नसक्ने बताउनु भयो । उहाँले राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रप्रति संवेदनशील नभएर आफ्नो तरिकाले गर्न खोज्दा अर्थतन्त्र बिग्रिनसक्ने बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले नियामक निकाय पहिलाको भन्दा अझ सचेत हुनुपर्ने अवस्था आएको पनि बताउनु भयो ।
डा. नेपालले विगतमा राष्ट्र बैंकले मर्जरको नीति ल्याउँदा मर्जर हुन नमाने पनि अहिले समयको आवश्यकता अनुसार आफैँ बैंकहरु मर्जरमा गएको दाबी गर्नुभयो ।

Spread the love