डब्ल्यूएचओका महानिर्देशकद्वारा खोपकेन्द्रको अवलोकन

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ललितपुरको पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गर्नुभएको छ । शुक्रवार महानिर्देशक गेब्रेयससले पाटन माध्यामिक विद्यालयस्थित खोपकेन्द्रको अवलोकन गर्नुभएको हो । खोप केन्द्रबाट अहिले १५ महिना भन्दा माथिका र १५ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप सञ्चालन भइरहेको छ । गत चैत्र २५ गतेबाट सरकारले देशभरका विभिन्न विद्यालयका खोपकेन्द्र स्थापना गरी टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । यो अभियान वैशाख १८ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै सरकारले खोपकेन्द्रहरुबाट टाइफाइडबिरुद्धको खोप र कोरोनाबिरुद्धको खोप पनि सञ्चालन गरिरहेको जनाएको छ । खोपकेन्द्र अवलोकनका क्रममा महानिर्देशन गेब्रेयससले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग भेट गर्नुभएको थियो । भेटपछि सञ्चारकर्मीहरुसँग बोल्दै मेयर महर्जनले महानिर्देशक गेब्रेयससले नेपालले कोभिड १९ बिरुद्ध सफलता पाएको र सोही कामको अवलोकन गर्नुभएको बताउनु भयो । उहाँले ललितपुर महानगर क्षेत्रमा रहेको खोपकेन्द्रको अवलोकन गर्नु आगामी दिनमा नेपाल र ललितपुर महानगरपालिकालाई जनस्वास्थ्यको क्षेत्रमा सहयोगका लागि छलाङ मार्ने अवसर हुने बताउनु भयो ।

मेयर महर्जनले भेटका क्रममा महानिर्देशक गेब्रेयससले आगामी दिनमा नेपालको जनसवस्थ्यको क्षेत्रमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको जानकारी दिनुभयो । सरकारले गत वर्षको चैत्र २५ गतेदेखि देशभरका विभिन्न विद्यालयहरुमा खोप केन्द्र राखेर टाइफाइडबिरुद्धको खोप अभियान सञ्चालन गरिरहेको छ । खोप अभियानको पहलिो चरणमा सरकारले १५ महिना भन्दा माथि र १५ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई लक्षित गरेर खोप अभियान शुरु गरेको छ । यो अभियानमा लगभग ७५ लाख बालबालिकाले लाभ लिने सरकारको अनुमान छ । नेपाल भ्रमणका क्रममा रहनुभएका महानिर्देशक गेब्रेयससले गत बिहीवार स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा, परराष्ट्रमन्त्री डा. नारायण खड्का र उच्च पदस्थ व्यक्तिहरुसँग भेट गर्नुभएको थियो । आजै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्ने कार्यक्रम छ ।

Spread the love