दक्षिण कोरियाको निर्यात २९.६ % ले वृद्धि भएर ५५ अर्ब ४४ करोड डलर

साउन १७, सोल(दक्षिण कोरिया)  । कोभिड–१९ महामारीका कारण  कमजोर बनेको दक्षिण कोरियाली अर्थतन्त्र जुलाईमा भने सुधार भएको छ ।

खोपका कारण कोभिड–१९ संक्रमण दरमा कमी आएपछि यहाँबाट वस्तुका लागि विश्वव्यापी मागमा पनि सुधार देखिएको छ । दक्षिण कोरियाको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका अनुसार कोरियाको समग्र सामानको निर्यात दरमा वृद्धि भई अघिल्लो वर्षभन्दा २९ दशमलव ६ प्रतिशतले बढेर जुलाईमा ५५ दशमलव ४४ अर्ब अमेरिकी डलर कायम भएको छ ।

सन् १९५६ मा तथ्यांक संकलन हुन थालेदेखि यता यो नै सबैभन्दा धेरै निर्यात भएको सरकारी अधिकारीले बताएका छन् । यस पहिले सेप्टेम्बर २०१७ मा दक्षिण कोरियाको निर्यात दरमा ५५ दशमलव १२ अर्ब अमेरिकी डलर बराबरको वृद्धि भएको थियो ।

जुलाईमा आयात ३८ दशमलव २ प्रतिशतले बढेर ५३ दशमलव ६७ अरब अमेरिकी डलर पुगेको तथ्यांकले देखाएको छ । यसले गर्दा दक्षिण कोरियाको व्यापार बचत १ दशमलव ७७ अर्ब अमेरिकी डलर पुगेको छ । व्यापार सन्तुलनको अवस्थामा निरन्तर १५ महीनासम्म चिन्ताजनक रहेको थियो । दक्षिण कोरियामा लगातार चौथो महीना निर्यात दरमा २० प्रतिशतभन्दा बढी ले वृद्धि भएको छ भने गत वर्षको नोभेम्बरदेखि नौ महीनासम्म वृद्धिमा निरन्तरता कायम छ ।

यस वर्षको पहिलो सात महीनामा निर्यात ३५८ दशमलव ७ अर्ब अमेरिकी डलर बराबरको नयाँ उचाइमा पुगेको छ । गत वर्षको सोही अवधिको तुलनामा यो २६ दशमलव ६ प्रतिशतको वृद्धि हो ।   

(स्रोतः अन्तराष्ट्रिय समाचार एजेन्सी)

Spread the love