देवयानी राणा कोकाकोला कम्पनी भारत–दक्षिण पश्चिम एशियाकी उपाध्यक्ष

२१ असार, काठमाडौं । देवयानी राणा भारत र दक्षिण–पश्चिम एसियामा कम्पनीको सार्वजनिक मामिला, सञ्चार र दीगोपना हेर्ने उपाध्यक्षको रुपमा नियुक्त भएकी छिन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोकाकोलाले केही दिनअघि देवयानीलाई भारत र दक्षिण पश्चिम एसियाका लागि जनसम्पर्क, सञ्चार र दीगोपना मामिलामा काम गर्ने गरी उपाध्यक्ष नियुक्त गरेको हो । देवयानी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी हुन् ।

देवयानीले सरकार र कर्पोरेट सम्बन्ध, रणनीतिक व्यापार, जोखिम व्यवस्थापन र सञ्चारमा झन्डै साढे २ दशकसम्म काम गरेकी छन् । यसअघि राणाले काटरपिलर इन्डियाको निर्देशकको रुपमा रहेर भारत, नेपाल र भुटानको सार्वजनिक मामिला हेरेकी थिइन् ।

कोकाकोलाको भारत र दक्षिण–पश्चिम एसिया हेर्ने अध्यक्ष संकेत रेले देवयानीको आगमनले कोकाकोला यो क्षेत्रमा थप विस्तार हुने बताए । उनले देवयानीसँग नीति, नियम, व्यापार सम्झौता र नियमनबारे वकालत गरेको अनुभव रहेको रेले सुनाए ।

विगत २५ वर्षमा राणाले राष्ट्रसंघको विकास कार्यक्रम (यूएनडीपी) र राष्ट्रसंघ इन्डियाका साथै स्वाब फाउन्डेसन फर सोसियल इन्टर्ननर्सिप, जेनेभा र विश्व आर्थिक मञ्च (डब्ल्यूईएफ)मा पनि काम गरिसकेकी छिन् ।

राणाले यो अवधिमा यो क्षेत्रमा पूर्वाधार, वातावरण, सामाजिक र सुशासन र व्यापारमा प्रभावकारी रणानीतिको विकास गर्न सफल भएकी छिन् । साथै उनले कम्पनीको नाफा बढाउँदै व्यापार विस्तार पनि गराउन सफल भएकी छिन् ।

राणाले लण्डन स्कुल अफ इकोनोमिक्स एण्ड पोलिटिकल साइन्स (एलएसई) अध्ययन गरेकी थिइन् । उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा मास्टरडिग्री गरेकी थिइन् ।

नेपालमा दरबार हत्याकाण्ड हुँदा देवयानीको नाम चर्चित थियो । पशुपतिशमशेरकी कान्छी छोरी देवयानीको तत्कालीन युवराज दीपेन्द्रसँग प्रेम सम्बन्ध रहेको भनिन्छ । उनको देवयानीसँगको सम्बन्ध दरबारले नकारेको थियो । त्यही कारणले आमाबुवासँग मनमुटाव भएपछि दीपेन्द्रले २०५८ जेठ १९ गते दरबारमा गोली चलाएको दरबार हत्याकाण्ड छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

दरबार हत्याकाण्डको पाँच वर्षपछि १० फागुन २०६३ मा देवयानीले भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् । देवयानी पछिल्लो समय नेपालको राजनीतिमा पनि देखिएकी थिइन् ।

चार वर्षअघि उनी दोलखाबाट राप्रपाको महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधि बनेकी थिइन् । तर, उनले नेपालको राजनीतिमा त्यति चासो भने देखाइनन् । केहि बर्ष गुमनाम भएकी देवयानी कोकाकोला कम्पनीको जिम्मेवारी सम्हालेपछि फेरि एकाएक चर्चामा आइन् ।

 

 

Spread the love