देशका १५ जिल्लामा हात्तिपाइले रोगबिरुद्धको अभियान शुरु

सरकारले बिहीवारदेखि देशका १५ जिल्लामा हात्तिपाइले रोगबिरुद्धको औषधि खुवाउने अभियान शुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवारदेखि फागुन २५ गतेसम्म हात्तिपाइले रोगबिरुद्धको औषधि १५ जिल्लामा खुवाउने अभियान थालेको हो । उक्त अभियान स्वास्थ्य कार्यालय धनुषाले एक कार्यक्रमकाबीच थालनी गरेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झाले हात्तीपाइले रोग समुदायमा फैलन नदिनको लागि हात्तिपाइले रोगबिरुद्धको औषधि खान जरुरी रहेको बताउनु भयो । उहाँले हात्तिपाइले रोगबिरुद्धको औषधि एक पटक खादा ०.४ प्रतिशत समुदायमा फैलनबाट रोक्ने बताउनु भयो । उहाँले हात्तिपाइले रोगबिरुद्धको औषधि दुई पटक खाएमा धनुषा जिल्ला उक्त रोगबाट बच्नसक्ने बताउनु भयो । उहाँले हात्तिपाइले रोग अझै नेपालबाट उल्मुलन हुन नसकको भन्दै मधेस प्रदेशको पाँच जिल्लामा अभियान चलाइएको बताउनु भयो । उहाँले सरकारले हात्तिपाइले रोगका विषयमा गरेको सर्वेक्षणको आधारमा १५ वटा जिल्लामा अभियान थालनी भएको बताउनु भयो ।
मधेस प्रदेशका सामाजिक विकासमन्त्री सुरिताकुमारी साहले प्रदेशका पाँचवटा जिल्लामा रहेको हात्तीपाइले रोगको प्रभावलाई रोक्न सरकार लागिपरेको बताउनु भयो । मन्त्री साहले रोगलाई रोक्नका लागि स्वास्थ्यकर्मीहरु सजग हुनुपर्ने आवश्यक रहेको बताउनु भयो । उहाँले रोग रोकथाम गर्ने कार्यमा स्थानीय तहहरुलाई पनि समन्वय गर्न आग्रह गर्नुभयो ।
सरकारले झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, वागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलालीमा सो औषधि खुवाउन थालिएको छ । औषधि वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, विद्यालय, धार्मिकस्थलमा बुथ बनाइ खुवाइनेछ । औषधि दुई वर्ष उमेर पूरा भएका सबैलाई खुवाइनेछ । औषधिले शरीरमा हात्तिपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तिपाइले हुनबाट जोगाउँछ । सरकारले औषधि निःशुल्क उपलब्ध गराउनेछ । सरकारले सन् २०३० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य राखेको छ ।

Spread the love