धितोपत्र बोर्डले नेप्सेसंग सुझाब माग्यो

असार १३, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सुझाब मागेको छ । साना तथा मझौला कम्पनी( एसएमई) हरुको छुट्टै कारोबार गर्ने गरी एसएमई प्ल्याटफर्मको विकास गर्नका लागि बोर्डले सुझाब मागेको हो ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममै धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्ल्याटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्न नेप्सेलाई सहजीकरण गर्ने कार्यक्रम समेटेको थियो ।

सोही कार्यक्रम कार्यान्वयनका सन्दर्भमा बोर्डले असार ८ गते नेप्सेसँग सुझाब माग गर्दै पत्राचार गरेकोे जानकारी दिएको हो । नेपालको धितोपत्र बजारमा हाल सबै किसिमका कम्पनीहरु एकै किसिमको कक्षमा सूचीकृत भई कारोबार भइहेका छन् ।

हाल बजारमा करोडदेखि अर्ब रूपैयाँसम्म पूँजी भएका कम्पनीहरु एउटै कक्षमा समेटिएर कारोबार भइरहेको अवस्था छ । सबै खाले कम्पनीहरुको एकै किसिमको कक्षमा कारोबार हुँदा धितोपत्रको सुचकांकहरुले वास्तविक अवस्थाको संकेत नगरेको भन्दै बोर्डले दुई कक्ष मार्फत साना तथा मझौला र ठूला कम्पनीहरुको कारोबार गराई वास्तविक अवस्थाको सृजना गर्ने तयारी गरेको हो ।

बोर्डले साना तथा ठूला कम्पनीहरुको छुट्टा छुट्टै कारोबार कक्षको विकासका लागि आवश्यक पूर्वाधार र कानूनी प्रावधानका सम्बन्धमा अन्तरराष्ट्रिय अभ्यासलाई पनि पुनरावलोकन गरी प्रारम्भिक अध्ययनसमेत गरेको जानकारी दिएको छ ।

उक्त अध्ययन प्रतिवेदनमा गरिएको सिफारिस बमोजिम आवश्यक प्रक्रिया अघि बढाउन गर्नुपर्ने नीतिगत सुधार र पूर्वाधार विकासका सम्बन्धमा नेप्सेसँग सुझाब माग गरिएको बोर्डले बताएको छ ।

धितोपत्र बोर्डले अघि सारेको साना र ठूला कम्पनीहरु छुट्टा छुट्टै कक्षमा कारोबारका लागि नेपालमा प्राविधिक कठिनाईसँगै नीतिगत समस्या हुने नेप्सेले जनाएको छ ।

अन्तरराष्ट्रिय बजारमा यो व्यवस्था कार्यान्वयनमा रहे पनि नेपालमा तत्काल कार्यान्वयनमा कठिनाई हुन सक्ने सम्भावनालाई प्रवक्ता पराजुलीले औंल्याएका छन् ।

हालसम्म सबै खाले कम्पनीहरु एकै कक्षमा कारोबार भइरहेको अवस्थामा ती कम्पनीहरुलाई छुट्याउनेदेखि नयाँ कम्पनीहरुको सवालमा नीतिगत व्यवस्था तय गर्न थप अध्ययन तथा अनुसन्धान आवश्यक रहेको नेप्सेको भनाई छ ।

कुनै पनि नयाँ काम गर्नुअघि त्यसले भविष्यमा पार्ने प्रभावलाई अगाडीनै मूल्याङ्कन गर्न आवश्यक रहेकाले यस विषयमा नेप्सेले थप छलफल पश्चात आवश्यक सुझाब धितोपत्र बोर्डमा पेश गर्ने जानकारी दिएका छैन । बोर्डले केहि दिनअघि शेयर कारोवारमा जोखिम कम्पनीको नामहरु सार्बजनिक गरिदिएको थियो ।

Spread the love