नगर प्रहरी क्विक रेस्पोन्स टिमले ल्यायो ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा

ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ । बिहीवार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर ५ वटा विद्युतीय बाइक सञ्चालनमा ल्याएको जानकारी गराएको हो । महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जनाएको छ । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गर्नुभयो । उहाँले पेट्रोल, डिजेल र मट्टितेलले चल्ने सवारीसाधन नहुने दाबी गर्नुभयो । उहाँले क्विक रेस्पोन्स टिमलाई यी बाइक महानगरभित्र तत्काल केही समस्या पर्दा सो क्षेत्रमा तत्काल पुग्ने गरेर खरिद गरिएको बताउनु भयो । उहाँले सानो कुराले पनि ठूलो परिवर्तन गर्ने र महत्व राख्ने भएकोले सानो काम भएपनि महत्वपूणर् काम गरेको उल्लेख गर्नुभयो । पाटन शहर २४ सै घण्टा सुत्दैन भन्ने अवधारणा अघि बढाएर लैजाँदा सुरक्षाको महत्व पनि त्यत्तिकै हुने भएकोले सिसिटिभी जडानको काम भइरहेको बताउनु भयो ।
प्रमुख महर्जनले महानगरपालिकाले अब अत्याधुनिक दमकल खरिद गर्ने काम भइरहेको बताउनु भयो । उहाँले पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुनेपनि बताउनु भयो ।

Spread the love